समाचारसोमबार, जेठ ४, २०७२
बालबालिकासँग भूकम्पबारे कसरी कुरा गर्ने
भूकम्प गएपछि बालबालिका त्रासमा छन् । कोमल मन मस्तिष्कका बालबालिका यस्तो विपत्तिबाट बढी प्रभावित हुन्छन् । त्यसैले उनीहरुसँग संयमित र सुझबुझपूर्ण व्यवहार गर्नु जरुरी छ ।
बालबालिकासँग भूकम्पबारे कसरी कुरा गर्ने:
१. बालबालिकाहरूको भावनाको कदर गर्नुहोस्। उनीहरूले भनेका कुरालाई ध्यानपूर्वक सुन्नुहोस् र आफ्नो मात्र भनाई बालबालिकालाई सुन्न बाध्य नबनाउनु होस्।
२. बालबालिकाको भुकम्पबाट सिर्जित डरलाई बुझ्नुहोस् तर अझ त्रसित पार्ने कुनै पनि कुरा र कार्य नगर्नु होस् ।
३. बालबालिकाहरूका लागि प्रश्न सोध्न र आफ्ना कुरा व्यक्त गर्न सहज वातावरण तयार गर्नुहोस् ।
उनीहरूलाई आफ्ना कुराहरू स्वतन्त्र रूपले व्यक्त गर्न खेल विधिका केही रमाइला क्रयाकलाप गराउनुहोस् ।
४. आफ्नो जिम्मेवारीमा भएका बालबालिकाहरूको विकासात्मक स्तर अनुसार कुराकानी गर्नुहोस् ।
५. गलत सूचना प्रवाहित नगर्नुहोस्, हल्लालाई सत्य झै प्रचार नगर्नुहोस्। तपाईँ प्रतिको बालबालिकाको भरोसा बलियो राख्नुहोस्।
६. बालबालिकाहरूलाई आफ्नो भावना व्यक्त गर्न यथेष्ट मौका दिनुहोस् । यदि बालबालिकाहरू एउटै प्रश्न बारम्बार सोधिरहन्छन् भने उनीहरू तपाईँबाट ढाढस खोज्दै भन्ने कुरा बुझ्नुहोस् ।
७. आफ्नो मनोदिसाको बारेमा इमान्दार हुनुहोस्। याद गर्नुहोस् कि तपाईँ कठिन परिस्थितीको सामना गर्न सक्ने आदर्श र दृढ़ व्यक्तिको रूपमा बालबालिकाहरूले हेरेको हुन सक्छन्। तपाईँ अत्तालिएको बालबालिकाले देखेमा उनीहरू अझबढी त्रसित हुन सक्छन्।
८. बालबालिकाहरूले ईच्छा अनुसार भिन्न भिन्न माध्यमद्वारा उनीहरूको भावना व्यक्त गर्ने अवसर प्रदान गर्नुहोस् । तपाईं बालबालिकाहरूलाई चित्र बनाउन, लेख्न, अभिनय गर्न, रङ लगाउन, दैनिकी लेख्न, कोलाज चित्र बनाउन, माटाको काम गर्न, कविता पाठ गर्न, लेख्न, खेल खेल्न, नाच्न, सङ्गीत (गाउन, बजाउन), शारीरिक खेलहरू खेल्न, ब्लक निर्माण गर्न आदिको व्यवस्था गर्न सक्नु हुनेछ ।
९. बालबालिकाहरूले नउठाएका प्रश्नको जबाफ दिन जरूरी हुँदैन्। बालबालिकाहरूसँग अनावश्यक विषयहरू छलफल नगर्नुहोस्। । जस्तै— के यस्तो भुकम्प फेरी आउला?आदि। याद गर्नुहोस् तपाईँले सबै प्रश्नको उत्तर दिन पर्दैन र आफूलाई थाहा नभएको विषयको प्रश्नको उत्तर त झन दिनै हुदैन।
१०. भुकम्प आएको समयमा अपनाउनु पर्ने सुरक्षा रणनितीको बारेमा स्पष्टसँग बालबालिकासँग कुरा गर्नुहोस् र साथमा उनीहरूकालागी अपनाइएको सुरक्षा प्रणाली र भूकम्प आएको बेला सुरक्षित तवरले विद्यालय भवनबाट कसरी निक्लने भन्ने विषयमा छलफल गर्नुहोस्।
११. भुकम्प सम्बन्धि त्रसित पार्ने भिडियोहरू नदेखाउनुहोस्, जसले बालबालिकाहरूलाई झन बढि अत्याउन सक्छ ।
१२. समुदायको सदस्य भएको नाताले बालबालिकाहरूले भुकम्पमा परेको समुदायलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा छलफल र मन्थन गरी विद्यार्थीहरूलाई उपयुक्त कार्यमा लगाउनुहोस् । कुन काम कसका लागि उचित होला भन्ने कुरामा ध्यान दिनुहोस् । मान्छेहरू एकले अर्कालाई सहयोग गर्छन् भन्ने सन्देश प्रवाह गर्नुहोस् । तिम्रो प्रयासले परिवर्तन सम्भब छ भन्नेकुरा बालबालिकालाई बुझाउनुहोस्।
साभार: रातो बंगला स्कुल
