समाचारसोमबार, जेठ ४, २०७२
‘बालगृह’ बाट १० बालबालिकाको उद्धार

लमजुङ्को सुन्दर बजारबाट उद्धार गरिएका बालबालिका । तस्वीर: युवराज श्रेष्ठ
एक ‘बालगृह’ले लमजुङको सुन्दरबजारमा अवैधरुपमा राखेका १० जना बालबालिकाको उद्धार गरिएको छ ।
काठमाडौँमा सञ्चालित बालगृहको घर भूकम्पले क्षतिग्रस्त भएपछि त्यहाँका बालबालिकालाई लमजुङमा स्थानान्तरण गरेको भन्दै बालगृहका सञ्चालक जिल्ला प्रशासन कार्यालयमा राहत माग्न गएपछि अनुगमन गर्दा झुठो विवरण र गैरकानूनी देखिएकाले बालबालिकाको उद्धार गरिएको जिल्ला प्रशासन कार्याल लमजुङले जनाएको छ ।
उत्पिडित कल्याण केन्द्र नामक ‘बालगृह’का सञ्चालक सूर्यबहादुर बुढापृथीले राहत माग्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि जिल्ला बालकल्याण समितिले गरेको अनुगमनका क्रममा बालगृह संचालन गर्न कानूनी प्रक्रिया पुरा नभएको र बालबालिका जोखिममा देखिएपछि उद्धार गरिएको बालअधिकार अधिकृत नविनचन्द्र घिमिरेले बताए ।
जिल्ला प्रशासन कार्यालय लमजुङमा २०५५ सालमा दर्ता भएको उत्पिडित कल्याण केन्द्रले त्यहाँ रहेका बालबालिका भूकम्प पीडित भनेर दिएको निवेदन समेत झुटो भएको घिमिरेले बताए ।
“सुन्दरबजारको पाउँदीमा बैशाख ४ देखि ६ गतेसम्म दश जना बालबालिका भित्रिसकेका रहेछन्,” अधिकृत घिमिरेले भने– “भूकम्प आउनु भन्दा अगाडि नै पाउँदी आएर घर भाडामा लिएर बसेको देखिएपछि संस्थाको नियत सही देखिएन ।”
बुढापृथीले सुन्दरबजारकै मस्र्याङ्दी निमाविमा ति बाल बालिका भर्ना गरेको रेकर्ड समेत देखिएको छ । बाल बालिकालाई देखाएर ठगीको धन्दा चलाएको हुनसक्ने उनको अनुमान छ ।
उद्धार गरिएका बाल बालिकाहरुमा नुवाकोटका दुई, कपिलबस्तुका एक, हुम्लाका दुई, दोलखाका दुई, सप्तरीका दुई र गोरखाका एक जना छन् । ५ देखि १४ बर्षसम्मका उनीहरुमध्ये बालक ७ र बालिका ३ जना छन् । अहिले बालबालिकालाई जिल्ला बालकल्याण समितिले आश्रय दिइरहेको छ ।
बालगृहले बालबालिका के कसरी जम्मा ग¥यो भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला बालकल्याण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । “बालगृह चलाउने अनुमति र मापदण्ड देखिएन,” उनले भने, “गैरकानुनी काम गर्नेलाई कारबाही हुन्छ ।”
बालबालिकाको उद्धारसँगै बुढापृथीलाई प्रहरीले हिरासतमा लिएको छ । गैरकानूनी रुपमा बालबालिका राखेको र गलत तरिकाले राहत मागेको प्रमाणित भएपछि बुढापृथिले प्रमुख जिल्ला अधिकारीसँग माफी मागेका थिए ।
बालगृह भनिएको स्थान लमजुङको सुन्दरबजार पाउँदीमा पुगेका महिला तथा बाल बालिका कार्यालयका प्रमुख दिपा घिमिरेले बालगृहको कुनै मापदण्ड नपुगेको बताइन् ।
“बालबालिका बस्ने, खानेदेखि कुनै पनि व्यवस्था मापदण्ड अनुसार छैन,” घिमिरेले भनिन्, “बालबालिका देखाएर पैसा कमाउने दाउ देखिएको छ ।”
युवराज श्रेष्ठ, लमजुङ
