समाचारमंगलबार, जेठ ५, २०७२
‘भूकम्पले खानेपानीको समस्या हट्यो’
नुवाकोटको काउले गाविसमा भूकम्पले घरहरु ध्वस्त बनाए पनि खानेपानीको समस्या भने हटेको छ ।
१२ बैशाखमा गएको विनासकारी भूकम्पले यस ठाउँका घरहरु भत्काउुनका साथै ५४ जनाको मृत्यु भएको थियो ।
भूकम्पले जनधनको क्षति गरे पनि यहाँका सुकेका मुलहरुमा पानी पलाएको छ भने खोलामा पनि पानीको मात्रा बढेको छ ।
“जमिन चिरा परेको ठाउँमा पनि पानी पलाएको छ,” स्थानीय आमा समूहकी अध्यक्ष मायादेवीले भनिन् ।
चैतदेखि जेठसम्म खानेपानीको निकै समस्या हुने यस ठाउँमा अहिले पानीको समस्या छैन । “पहिले पानीका लागि घण्टौं हिंड्नु पर्थ्यो अहिले खेतबारीका लागि पनि पानी प्रशस्त भएको छ,” मायादेवीले भनिन् ।
असारको २०/२५ नभई नचल्ने घट्टहरु पनि अहिले चलिरहेका छन् ।
भूकम्पपछि काठमाडौंका केही ढुंगेधारामा पनी पानी आउन थालेको खबर यसअघि प्राप्त भएको थियो ।
पहिले सुकेका मातातिर्थको धारा, काठमाडौं मरूको मरूहिटी, शेषनारायणको धारा कुण्ड र पशुपति क्षेत्रको बन बिनायकमा रहेका ढुंगेधारामा पानी आइरहेको छ ।
चिना थापा, नुवाकोटबाट
