समाचारबुधबार, जेठ ६, २०७२
टेक्ससका मनकारी नेपाली
नेपालमा विनाशकारी भूकम्प गएपछि नेपाली समाज टेक्सास, अमेरिकाले भूकम्पप्रभावित क्षेत्रमा करिब तीन करोडको राहत वितरणसँगै उद्धार, उपचार र आवास निर्माणमा सहयोग गरिरहेको छ ।
भूकम्प गएलगत्तै सक्रिय भएका टेक्सासबासी नेपालीहरुले समाजको आह्वानमा नगद अनुदान, औषधी तथा अन्य राहत सामाग्री सहयोग गरे ।
राजधानी काठमाडौ सहित अन्य जिल्लाहरु भूकम्पका कारण क्षत–विक्षत हँुदै गर्दा काठमाडौबाट ठूलो संख्यामा मानिसहरु सुरक्षित बसोबासको खोजीमा काठमाडौ बाहिरिंदै गर्दा अमेरिकालाई आफ्नो कर्मभूमि बनाएका नेपालीहरुको एउटा समूह भने आफ्नो सुरक्षाको प्रवाह नगरी नेपाल आएको समाजका उपसभापति बाल जोशीले बताए ।
पहिलो समुहमा १७ जना र दोस्रो समुहमा ५ जना रहेको उक्त समूहमा चिकित्सक, नर्स, इन्जिनियर, नेपाली मुलका अमेरिकी सेना तथा अन्य स्वयंसेवकहरु छन् ।
नेपाल आउनका लागि लाग्ने हवाई खर्च देखि अन्य सम्पूर्ण खर्च सबै स्वयंसेवकहरुले आफैं व्यहोरेका छन् । राहतका लागि उठाइएको कुनैपनि रकम स्वयंसेवकको लागि खर्च नगरिएको उपसभपति जोशीले जानकारी दिए ।
समाजले काठमाडौ, भक्तपुर, ललितपुर, गोरखा, धादिङ्ग, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, दोलखा तथा रसुवामा खाद्य तथा अन्य राहत सामाग्रीका साथ साथै स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको छ ।
समाजले अहिलेको विपत्तिको अवस्थामा एक अर्कालाई दोषारोपण नगरी सम्पूर्ण नेपालीहरु एक जुट भएर पीडालाई अवसरका रुपमा प्रयोग गर्न आह्वान गरेको छ ।
राहत र उद्धारपछि घाइतेहरुको शिघ्र उपचार तथा घरवारविहिनका लागि शिघ्र वास स्थानको व्यवस्थाका लागि नेपाली समाजले आफ्नो स्वास्थ्य शिविरलाई निरन्तरता दिने र पुनर्निर्माणमा समेत सक्दो सहयोग गर्ने जनाएको छ ।
