समाचारबिहीबार, जेठ ७, २०७२
काठमाडाैंकाे घर जाँच्न अमेरिकाबाट इन्जिनियर
ग्लोबल फेयरनेस इनिसियटिभ एन्ड ब्रिक क्लिन ग्रुप नेपालले सहरी विकास मन्त्रालयको सहकार्य र अमेरिकी इन्जिनियरको सक्रियतामा दुई हजार भवनको प्राविधिक परीक्षण गरेको छ ।
प्राविधिक जाँच गरी प्रतिवेदन मन्त्रालयमा बुझाइएको अभियानकर्मी होमराज आचार्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । “मन्त्रालयले उपयुक्त समयमा प्रतिवेदन सार्वजनिक गर्नेछ, बाँकी भवनमा जाँचका लागि हामी लागिपरेका छौँ, सांस्कृतिक सम्पदा र निजी भवन गरी दुई हजारमा हामीले जाँच गरी तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाएका छौँ”, उनले भने ।
प्राविधिक अध्ययनमा अमेरिकाका १८ जना भूकम्पलगायत प्राकृतिक प्रकोपमा काम गरी अनुभव बटुलेका विशेषज्ञ इन्जिनियरको सहभागिता रहेको थियो । कार्यक्रममा अमेरिकी इन्जिनियर स्कट डग्लसले भूकम्पबाट चिरिएका अधिकांश घर बस्न अयोग्य भएको बताए । “यस्ता भवनमा नबसी सुरक्षित स्थानमा सर्न सम्बन्धितलाई सुझाव दिएका छौँ, उनले भने ।
हाइटी र अमेरिकाका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपमा काम गरेका इन्जिनियरको एउटा समूह आज काठमाडौँ आउन लागेको छ । समूहले हनुमानढोकाको पुनःनिर्माणमा सघाउने प्रतिबद्धतासमेत जनाएको छ ।
