समाचारबिहीबार, जेठ ७, २०७२
प्रधानमन्त्रीकाे अध्यक्षतामा पुनःनिर्माण परामर्स समिति गठन
सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा पुनःनिर्माण परामर्श समिति गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को निर्देशनअनुसार प्रधानमन्त्री अध्यक्ष रहने र अन्य राजनीतिक दलका प्रतिनिधिसमेत रहने गरी सो समिति गठन गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले बताए ।
बैठकले हालको प्राकृतिक विपद् तथा भविष्यमा आउन सक्ने विपद्मा स्वदेशी र विदेशी सङ्घसंस्था, व्यक्ति र निकायसँग कार्यविधिका आधारमा सम्झौता गरी अस्थायी, स्थायी विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, कृषि बजार भवन निर्माण तथा मर्मत र त्यसका लागि आवश्यक सामग्रीलगायत अन्य सहयोग प्राप्त गर्न सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ ।
यसैगरी सरकारले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ को व्यवस्था बमोजिम सन् २०१० मा नेपालले संयुक्त राष्ट्र सङ्घको मानवाधिकार समितिमा प्रस्तुत गरेको प्रतिवेदन उपर सो समितिले प्रस्तुत गरेको सिफारिसको कार्यान्वयन सम्बन्धमा सिफारिस सङ्ख्या ५, ७ र १० को प्रयोजनका लागि तयार पारिएको नेपालको जवाफलाई स्वीकृत गरेको छ ।
त्यस्तै सरकारले बेरुजु फछ्र्योट मूल्याङ्कन र अनुगमन समितिको वार्षिक प्रतिवेदन–२०७१ को परिच्छेद ३ मा उल्लेख भएका सुझाव एवम् सिफारिसहरु कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्री डा रिजालले जानकारी दिनुभयो ।
सरकारले सेवाग्राही सन्तुष्टि सर्वेक्षण वार्षिक प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्नुका साथै सरकारबाट प्रदान हुने सेवा सुधार कार्ययोजना तत्काल बनाएर मन्त्रिपरिषद्मा पेस गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।
रमेश उपरथीमा बढुवा
बैठकले नेपाली सेनाका सहायक रथी रमेश पुनःलाई साधारणतर्फ रिक्त उपरथीमा, साधारणतर्फका महासेनानी प्रेमसिंह बस्न्यातलाई सहायक रथीमा, रिक्त सहायक रथी चिकित्सकमा अरुणकुमार चौलागार्इंलाई र रिक्त प्राविधिक महासेनानी चिकित्सकमा इभाप्रिया श्रेष्ठलाई पदोन्नति गरेको छ ।
सरकारले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको प्रमुख कन्सल्टेन्ट पदबाट डा अचला वैद्यले दिएको राजीनामा स्वीकृत गरेको मन्त्री रिजालले बताए ।
