समाचारबिहीबार, जेठ ७, २०७२
अाेलीले भने, ‘एमाले फेसबुकमा फाेटाे राख्न स्वयम् सेवा गर्दैन’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपत्तिपछिको अवस्थामा राजनीति नभई पवित्र सेवा भावका साथ स्वयम्सेवामा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।
विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सञ्चालन गर्न लागेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानमा खटिने केन्द्रीय टोलीका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले असाधारण सङ्कटग्रस्त अवस्थामा खास गरी अस्थायी आवास निर्माणका साथै त्रसित मानिसलाई सामान्य अवस्थामा फर्काउने काम गरिने बताए ।
“१० जेठबाट स्वयम्सेवाको अगुवाइ हाम्रो पार्टीले गर्नेछ, १० गतेपछि देशले थाहा पाउँछ एमाले के हो भन्ने ।” उनले देशभित्र र बाहिरबाट उपलब्ध सहयोग र वितरणको स्पष्ट लागत राख्न पनि आग्रह गरे ।
छानामुनि जनतालाई ल्याइसकेपछि पुरातात्विक महत्वका धरोहर र बाटाघाटा निर्माणमा प्राथमिकता दिनुपर्ने बताउँदै उनले जनतामा हामी बनाउन सक्ने रहेछौँ भन्ने मनोबल उठाउन अभियान सञ्चालन गरिने बताए ।
उनले भने, “विपत्तिको सामनाको कामलाई एमालेले निकै प्राथमिकता दिएको छ, हामीले जनताले हरेस नखाऊन् भनेर भूकम्प आएको भोलिपल्टै स्थायी कमिटीको बैठकबाट उद्धार, राहत र परिचालनका काममा जुट्ने निर्णय गरेका छौँ, अब पार्टीका अभियानले गति लिन थालेको छ ।”
उनले भने, “हामीले फेसबुकमा तस्बिर राख्नका लागि होइन जनतालाई सेवा दिने व्यापक भावना र सकारात्मक सन्देशका लागि काम गर्छाै, देखावटी होइन यथार्थका लागि गर्छाै।”
दश हजार स्वयंसेवक
१७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा स्थायी कमिटीका नेतासहित १० हजार स्वयम्सेवक टोली परिचालन हुनेछन् । प्रतिनिर्वाचन क्षेत्रमा एक सय स्वयम्सेवक हुनेछन् । संयोजक विष्टले सिङ्गो पार्टी नै स्वयम्सेवकमा परिणत हुने बताउनुभयो । अन्य जिल्लामा पनि आवश्यकताका आधारमा स्वयम्सेवा गरिने उनले बताए ।
अभियानका लागि एमालेले भूकम्प प्रभावित नभएका महाकाली, सेती, कर्णाली, भेरी, राप्ती, लुम्बिनी, मेची र कोसी अञ्चलका जनशक्ति यही जेठ ९ गतेसम्म कठमाडौँमा आइपुग्न भनेको छ ।
अन्य अञ्चलका जनशक्ति सोही क्षेत्रको तोकिएको जिल्लामा केन्द्रित भई परिचालित हुनेछन् । पोलिटब्युरो सदस्य वा केन्द्रीय सदस्यले अगुवाइ गर्ने टोलीले प्रत्येक निर्वाचन क्षेत्रको बढी क्षति भएको र विपन्न मानिएको गाविस छनोट गरी त्यसलाई केन्द्र अन्य गाविसमा अभियानको सञ्चार गराउनेछन् । सो गाविसमा सबै पार्टीका कार्यकर्ता र जनताका घर बनाउन एमालेले निर्देश गरेको छ ।
पार्टीको हेलमेटसहित पोसाकमा सजिने ती टोलीले हरेक दिन बिहान ८ र साँझ ६ बजेसम्म अस्थायी आवास निर्माणको स्वयम्सेवकको हाजिरी गराउनेछ ।
स्वयम्सेवीले सरकार वा पीडित जनताका तर्फबाट कुनै सहयोग नलिने घोषणा गरिएको छ । टोलीले आवश्यक सामग्री र औजारका साथै प्रत्येक परिवारमा पुगेर स्थानीय कमिटीको समन्वयमा क्षति र स्वयम्सेवाको विवरण सङ्कलन गर्ने छन् ।
अभियानको नारा ‘नेपाली योजनाः अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्वः हरेक नेपालीको साथ’ भन्ने नारा तय गरेको छ भने ‘गाउँ गाउँबाट उठ…’ बोलको गीतलाई अभियानको गीत घोषणा गरिएको छ । एमालेले अध्यक्ष ओलीलगायत नेतालाई विभिन्न जिल्लागत अनुगमनको जिम्मेवारी तोकेको छ ।
