समाचारशनिबार, जेठ ९, २०७२
जनताकाे पीडामा सरकार सँगै छः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले सरकार भूकम्पपीडित नेपाली जनतासँगै रहेकाे बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विपद् व्यवस्थापन स्वयंसेवक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भूकम्पले पारेको विपत्तिको नेपाली जनताले सामना गरिरहेको बताउँदै भने, “जनताको पीडामा सरकार सँगै छ, अन्तर्राष्ट्रिय समुदाय छ, विपद्को यस घडीमा सबै एक भएर राहत, उद्धार एवम् नयाँ नेपाल निर्माणको अभियानमा लाग्नुपर्छ । ”
राष्ट्रको यस विपत्तिमा युवा वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कांग्रेसका सभापति पनि रहनुभएका कोइरालाले नयाँ नेपालको निर्माणमा जुट्ने युवाको अठोट अत्यन्त प्रशंसायोग्य भएको र यसमा सहयोग पुर्याउन सरकार प्रतिबद्ध रहेकाे बताए ।
कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले यस विपत्तिबाट पाठ सिक्दै यस्ता र यसभन्दा ठूलो विपत्ति आइपरे पनि २४ घन्टाभित्र खोजी, राहत तथा उद्धार गर्न सक्ने किसिमको सक्षमता कायम गर्नेतर्फ लाग्नुपर्ने बताए ।
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो राष्ट्रको निर्माण आफैँ गर्न सक्छौँ भन्ने कुराका साथ सुरु भएको अभियान आफैंमा महत्वपूर्ण रहेको बताउँदै भने, “भूकम्पले हामीलाई चुनौती दिएको छ, यस बेला आलस्यपनबाट उठी श्रमको पूजा गर्ने बेला हो, तत्काललाई अस्थायी टहरा निर्माण गरी देशमा एकीकृत बस्तीको योजना ल्याउनुपर्छ । ”
