समाचारशनिबार, जेठ ९, २०७२
१७ जेठबाट विद्यालय खुल्ने
शैक्षिक सङ्घसंस्थाहरुले अागामी १७ जेठदेखि विद्यालय पुनःसञ्चालन गर्न आफूहरु तयार रहेको बताएका छन् ।
रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा शैक्षिक क्षेत्रका विज्ञले भूकम्पको त्रास कम गर्न र मानिसको जनजीवनलाई सामान्यीकरणतर्फ उन्मुख गराउनकै लागि भए पनि विद्यालय सञ्चालन गर्न आवश्यक रहेको ठहर्याएका छन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले औपचारिक पठनपाठन गर्न केही समय लागे पनि अनौपचारिक रुपमा मनोपरामर्श प्रदान गर्नकै लागि भए पनि विद्यार्थीलाई विद्यालयमा आउने वातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिए ।
त्रिविका उपकुलपति हिराबहादुर महर्जनले काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पस पूर्ण रुपमा क्षतिग्रस्त भएको बताउँदै यही जेठ २२ गतेदेखि क्याम्पसमा पठनपाठन सुरु गरिने बताए । शिक्षाविद् विद्यानाथ कोइरालाले भूकम्पको त्रास अझै रहेकाले बालबालिकालाई यसबाट मुक्त गराउन विद्यालय सञ्चालनमा ल्याउनुपर्ने बनाए ।
नेपाल शिक्षक सङ्घका अध्यक्ष केशव निरौलाले शैक्षिक पात्रोमा भएका विभिन्न पर्व, बिदालाई कटौती गर्दै शिक्षामा पुगेको क्षतिलाई कम गर्नुपर्ने सुझाए ।
