समाचारशनिबार, जेठ ९, २०७२
एमाओवादीका डेढ लाख कार्यकर्ता परिचालित
एमाअाेवादीका प्रवक्ता दीनानाथ शर्माले पार्टीले भूकम्पप्रभावित क्षेत्रमा सञ्चालन गरेको अभियानमा डेढ लाख कायकर्ता प्रत्यक्ष रुपमा सहभागी भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भूकम्पले मुख्यरुपमा प्रभाव पारेका १४ जिल्लामा नियमित रुपमा पुनःनिर्माणमा ती कार्यकर्ता खटिएको बताए ।
राष्ट्रिय श्रम अभियान–२०७२ नाम दिइएको सो अभियानको नेतृत्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकमा, वरिष्ठ नेता डा बाबुराम भट्टराईले गोरखामा, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दोलखामा र महासचिव कृष्णबहादुर महराले काठमाडौँमा गरिरहनुभएको प्रवक्ता शर्माले बताए ।
अभियानलाई प्रभावकारी बनाउन भूकम्पले प्रभाव नपारेका जिल्लाबाट एक लाखभन्दा बढी बाँस र जस्तापाता प्रभावित क्षेत्रमा पुगिसकेका र ती सामग्री आउने क्रम जारी रहेको उनले बताए ।
दश लाख घना बाँस ल्याउन तराईका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रले निर्देशन दिएको उल्लेख गर्दै प्रवक्ता शर्माले धेरैभन्दा धेरै अस्थायी घर मनसुनअगावै निर्माण गर्न पार्टी क्रियाशील रहेको बताए ।
उनले आफूहरुको प्राथमिकता विद्यालय, पिउनेपानी, स्वास्थ्य चौकीलगायतको पुनःस्थापना पहिलो प्राथमिकतामा रहेको र भूकम्पपीडित जनताका लागि अस्थायी घरटहरा निर्माण गर्ने उनले बताए ।
ध्वस्त संरचनाको पुनःनिर्माणमा कार्यकर्ता लागेको उल्लेख गर्दै प्रवक्ता शर्माले अभियान सुरुमा १५ दिन सञ्चालन गरिने र त्यसको समीक्षापछि दोस्रो चरणको कार्यक्रम अगाडि बढ्ने बताए ।
