समाचारआइतबार, जेठ १०, २०७२
एमालेकाे १० हजार स्वयम् सेवक परिचालित
नेकपा एमालेले महाभूकम्प प्रभावितहरुकाे पुनःस्थापनामा सहयाेग गर्न दश हजार स्वयम् सेवक टाेली परिचालन गरेकाे छ ।
महाभूकम्पबाट अति प्रभावित १७ जिल्लाका लागि एमालेले १० जेठबाट एक महीने अभियानका लागि उक्त टाेली परिचालन गरेकाे छ । काठमाडाैंबाट विदाई हुने स्वयम् सेवकहरुका लागि भृकुटीमण्डपमा एक कार्यक्रम अायाेजना गरिएकाे थियाे ।
पार्टी अध्यक्ष केपी शर्मा अाेली, बरिष्ठ नेता माधवकुमार नेपाल र अन्य पदाधिकारीहरु समेत उपस्थित कार्यक्रममा स्वयम् सेवकहरुलाई सपथ ग्रहण गराएर प्रभावित क्षेत्रमा परिचालन गरेकाे छ ।
‘नेपाली योजनाः अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्वः हरेक नेपालीको साथ’ भन्ने नाराका साथ एक महिने ‘राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान’ सुरु गरेकाे हाे । उनीहरुले अस्थायी बसाेबासका लागि घर, टहरा, ओत निर्माण गर्न १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा केन्द्रीकृत र योजनाबद्ध रुपमा केन्द्रीय नेतासहितको टोली परिचालन भएको छ।
काठमाडौँबाट विभिन्न ११ जिल्लाका ३३ स्थानमा टोली परिचालन भएका छन् । ओखलढुङ्गा र सोलुखुम्बुका लागि प्रस्थान गर्ने स्वयम्सेवकहरुका लागि लहान (सिरहा), सिन्धुलीका लागि कमलामाई (सिन्धुली), चितवन र मकवानपुरका लागि हेटौंडा (मकवानपुर) र गोरखा, लमजुङ्ग, र तनहुँका लागि पोखरा (कास्की)मा विदाइ गरिएको छ । अभियान परिचालनसम्बन्धी निर्देशिका, आचारसंहिता र सन्दर्भ सामग्रीसहितको पुस्तिका सार्वजनिक भइसकेको छ ।
गत ३ जेठकाे स्थायी कमिटीको बैठकले सचिव गोकर्णराज विष्टको संयोजकत्वमा सो अभियान परिचालन समिति गठन गरेको थियो । अभियानका लागि एमालेले भूकम्प प्रभावित नभएका अञ्चलहरु महाकाली, सेती, कर्णाली, भेरी, राप्ती, लुम्बिनी, मेची र कोसीबाट पनि कार्यकर्ता झिकाएको छ ।
काठमाडौँका लागि सावित्रा भुसाल, रुपनारायण श्रेष्ठ, टंक कार्की, राजन भट्टराई, खगेन्द्र राई, राजेन्द्र राई, प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, डा विजय पौडेल र सुरेन्द्र मानन्धरलाई परिचालन गरेको छ भने अन्य जिल्लाका लागि केन्द्रीयस्तरका नेतालाई कमाण्डको जिम्मा तोकेको छ ।
पार्टीका पोलिटब्युरो सदस्य वा केन्द्रीय सदस्यले अगुवाई गर्ने टोलीले प्रत्येक निर्वाचन क्षेत्रको बढी क्षति भएको र विपन्न मानिएको गाविस छनोट गरी त्यसलाई केन्द्र मान्दै अभियानको सञ्चार गराउनेछन् । सो गाविसमा सबै पार्टीका कार्यकर्ता र जनताका घर बनाइनेछ ।
पार्टीको हेलमेटसहित राता पोसाकमा सजिएका ती टोलीले हरेक दिन बिहान ८ र साँझ ६ बजेसम्म अस्थायी आवास निर्माणको स्वयम्सेवकको हाजिरी गराउनेछ । स्वयम्सेवीले सरकार वा पीडित जनताका तर्फबाट कुनै सहयोग नलिने जनाइएको छ ।
अभियानका लागि ‘गाउँ गाउँबाट उठ…’ बोलको गीतलाई अभियानको गीत घोषणा गरिएको छ । पार्टीले अध्यक्ष ओलीलगायत नेतालाई विभिन्न जिल्लागत अनुगमनको जिम्मेवारी तोकेको छ ।
भृकुटीमण्डपमा भएकाे स्वयम् सेवक विदाई कार्यक्रमका केही झलकहरु । तस्वीरहरुः अानन्दराम डंगाेल/रासस










