समाचारसोमबार, जेठ ११, २०७२
एमाले सरकारको मुख हेरेर बस्दैनः नेपाल
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले महाभूकम्प पीडितको पुनःस्थापना गर्न सरकारको मुख ताकेर नबस्ने बताएका छन् ।
भूकम्पबाट क्षतिग्रस्त बनेको टोखास्थित महाकाँल मावि पुगेका नेता नेपालले बर्षायाम अघि नै प्रभावितहरुलाई अस्थायी पुनःस्थापना गर्न एमाले लागि परेको बताए । उनले भने, ‘‘भूकम्पबाट चर्किएका मनमा मल्हम लगाउने एमाले कार्यकर्ताहरु जनताको घरघरमा पुग्नेछन् ।’’
भग्नावशेषबाट नवनिर्माणमा लाग्न जनतालाई मनोवैज्ञानिक रुपमा तयार पार्न पनि एमालेका १० हजार स्वयम् सेवक गाउँगाउँ पुग्ने उनले बताए । उनले भने, ‘‘पराकम्प रोकिएको छैन, पराकम्प आउँदा तपाईँहरु काम गर्दै गरेको हुनुसक्नुहुन्छ या बास बसेको बेला पर्न सक्छ नआत्तिकन जनतालाई समाल्नुहोस् । सतर्क बनाउनुहोस् ।’’
पहिलो प्राथामिकता विद्यालय
उनले एमाले स्वयम् सेवकहरुले अतिप्रभावित क्षेत्रका जनताका हरेक काममा सघाउने बताए । ‘‘भग्नावषेश हटाउने, अस्थायी टहरा बनाउने या नवनिर्माणमा सघाउने काम एमालेका स्वयम् सेवकहरुबाट हुनुपर्छ’’ नेता नेपालले भने ।
उनले गरीब, विपन्न, घरमा काम गर्न नसक्ने परिवार पहिलो प्राथामिकता हुने बताए । नेपालले लामो समय विद्यालय बन्द हुँदा बालबालिकामा नराम्रो प्रभाव पर्न सक्ने भएकाले अस्थायी विद्यालय निर्माण एमालेको पहिलो रोजाईँ हुने बताए ।
युनिसेफको तथ्याङ्क अनुसार भूकम्पबाट पाँच बर्ष मुनिका झण्डै ७० हजार बालबालिका प्रभावित बन्ने संभावना रहेको छ । विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लाका मात्रै झण्डै १५ हजार बालबालिका प्रभावित छन् ।
‘अस्थायी बसोबास गर्न ५० हजार चाहिन्छ’
स्वयम् सेवक अभियानको उद्घाटन गर्दै नेता नेपालले सरकारले भूकम्प प्रभावित परिवारलाई ५० हजार दिनुपर्ने बताए ।
उनले भने, ‘‘अव पालत्रिपाल होइन, चाउचाउ विस्कुट पनि होइन । जनतालाई बर्षा काट्न ५० हजार चाहिन्छ । जसले अस्थायी टहरा बनाउन जस्तापाता समेत आउँछ ।’’
