समाचारबुधबार, जेठ १३, २०७२
एभिन्यूजको प्रशारण अनुमति रद्द भएकाे छैनः मन्त्रालय
सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजन प्रालिको प्रसारण अनुमति (इजाजत पत्र) को नवीकरणसम्बन्धी कार्य प्रक्रियामै रहेको जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता पुरुषोत्तम तिवारीले अनुमति नवीकरणका सम्बन्धमा ठोस निर्णय भइनसकेको बताए। टेलिभिजनले नवीकरणका लागि पेस गरेका कागजातमा अध्ययन भइरहेको उनले बताए ।
टेलिभिजनको प्रसारण अनुमति रद्द गरिएको भनी टेलिभिजन ब्रोडकास्टर्स नेपाल (टिबिएन) ले अापत्ति जनाएपछि सहसचिव तिवारीले यसकाे खण्डन गरेका हुन् ।
हरेक टेलिभिजन र रेडियोले प्रत्येक आर्थिक वर्षमा तोकिएको शुल्क तिरी नवीकरण गर्नुपर्ने व्यवस्था छ । विलम्ब भएमा जरिवानासहित हरेक पुस मसान्तसम्ममा नवीकरण गराइने व्यवस्था छ ।
टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले आफूले गत पुस मसान्तमा नवीकरण शुल्कको चेक दिएको तर मन्त्रालयका कर्मचारीले नगदमा जम्मा गर्न आग्रह गर्नुभएको दाबी गर्दै प्राविधिक विषयका आधारमा सञ्चार माध्यमको नवीकरण रोक्नु नहुने बताए ।
