समाचारबुधबार, जेठ १३, २०७२
प्रधानमन्त्रीकाे राजिनामापछि राष्ट्रिय सरकारः रायमाझी
एमाअाेवादीका सचिव टोपबहादुर रायमाझीले राष्ट्रिय सहमतिको सरकार सुशील कोइराला नेतृत्वको सरकारको निरन्तरता नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले राष्ट्रिय सहमतिको सरकारको लागि बर्तमान सरकारले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राख्दै त्यसपछि दलहरुवीच छलफल गरेर सहमतिको सरकार गठन गर्नु पर्ने आवश्यकता औल्याए ।
रायमाझीले ब्यवस्थापिका संसदबाट पारित भएको साझा संकल्प प्रस्तावको आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने सुझाव राख्दै त्यही राष्ट्रिय सहमतिको सरकारको आधारमा विपत्तिको सामना र संविधान निर्माण गर्नुपर्ने बताए ।
उनले भने, “सहमतिको सरकार हुन नसकेको कारण नै अहिलेसम्म संविधान बन्न नसकेको हो । अहिलेको विपत्तिले उत्पन्न गरेको चुनौतीलाई अवसरको रुपमा उपयोग गरे नव निर्माण हुन्छ ।”
सरकारमा संसद बाहिर र भित्र रहेका सबै दललाई सहभागि गराउन सकिने र नेतृत्वको विषयमा छलफलका आधारमा जसले पनि गर्न सक्ने गरी खुल्ला छलफल गर्न तयार रहेको बताए ।
उनले सहमतिको सरकार गठनको विषयमा शिर्ष तहमा छलफल भइरहेको जानकारी दिदै नीतिगत कुरा मिलिसकेको र केही प्राविधिक कुरा मात्रै मिल्न बाँकी रहेकोले एक महिनाभित्र सहमतिको सरकार बन्ने विश्वास ब्यक्त गरे ।
