समाचारआइतबार, जेठ १७, २०७२
स्वयमसेवाकाे उच्च मूल्याङ्कन हुनेछः अाेली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाभूकम्प पीडितलाई सघाउन गरिएको स्वयम्सेवाको राज्य, समाज, आमजनता र पार्टीबाट उच्च मूल्याङ्कन हुने बताएका छन् ।
‘नेपाली योजनाः अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्व, हरेक नेपालीको हात’ भन्ने मूल नाराका साथ एमालेले सुरु गरेकाे राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान दोस्रो हप्तामा प्रवेश सन्दर्भमा विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले अभियानमार्फत् पीडितलाई सङ्कटको घडीमा ‘तपाईंहरु एक्लै हुनुहुन्न’ भन्ने सन्देश प्रवाह गर्न खोजिएको उल्लेख गरे ।
“अभियानबाट भग्नावशेषबाट पनि नयाँ निर्माण गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउन चाहन्छौँ । सङ्कटको घडीमा एक–अर्कालाई सहयोग गर्ने नेपाली चरित्रलाई सुदृढ गर्न र आफ्नै खुट्टामा उभिएर, आफ्नै साधन–स्रोत र श्रमबाट राष्ट्रको पुनःनिर्माण सम्भव छ भन्ने राष्ट्रिय भाव निर्माण गर्न चाहन्छौँ ।”
भूकम्पपीडितलाई सघाउन गाउँ–गाउँमा खटिएका दश हजार स्वयम्सेवकद्वारा पहिलो हप्तामै एक हजारभन्दा बढी अस्थायी आवास बनाइएको एमालेले जनाएको छ ।
