समाचारआइतबार, जेठ २४, २०७२
६ प्रदेशमा सहमतिः पाैडेल
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले ६ प्रदेशमा दलहरुबीचमा सहमति हुने बताएका छन् ।
नामकरण प्रदेश सभाले र सीमाङ्कन सङ्घीय आयोगले गर्ने गरी ६ प्रदेशमा दलहरुबीचमा सहमतिको अन्तिम छलफल भइरहेको उनले बताए ।
प्रमुख दलहरु सहमतिको अन्तिम चरणमा पुगेको बताउँदै उनले अग्निपरीक्षाको घडीमा दलहरु रहेकाले सहमतिको बाटो रोज्न आग्रह गरेर आफू बाहिरिएको उल्लेख गरे । उपसभापति पौडेलले अहिलेको समयमा सबै एकढिक्का हुनका लागि राष्ट्रिय सरकारको कुरा उठेको भन्दै संविधान र भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण अहिलेको महत्वपूर्ण काम भएको बताए ।
संविधान निर्माणपछि पाँचवटै पदमा को उपयुक्त हुन्छ त्यस विषयमा छलफल हुने भन्दै उनले अहिले नेतृत्व परिवर्तन गरी राष्ट्रिय सरकारको कुरा नउठेको स्पष्ट पारे । सशक्त प्राधिकरणको निर्माण गरी भौतिक पुनःनिर्माणमा जुट्नुपर्ने अवस्था आएको भन्दै उपसभापति पौडेलले २१औँ शताब्दी सुहाउँदो बस्ती निर्माणमा सबै दल, सरकार र जनता जुट्नुपर्ने बताए ।
