समाचारसोमबार, जेठ २५, २०७२
मोर्चा छोडेर बालुवाटार पुगे दाहाल
चार दलबीच भएको सहमति ३० दलीय मोर्चामा पारित गराउन नसकेपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् ।
आज विहान भएको सहमति मोर्चाको बैठकमा दाहालले पेश गरेका थिए । तर, मोर्चामा आवद्ध दलहरुले सीमाकंन र नामाकंन बिनाको संघीयता नस्वीकार्ने अडान लिएपछि दाहालको प्रस्ताव पारित हुन सकेन ।
दाहालका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुडामणी खड्काले हिमालखबरसँग भने, ‘‘हामी बालुवाटार आइसक्यौं, मोर्चा होइन अव संविधान बनाउनतिर लागेका छौं ।’’
मोर्चाको बैठकमा थ्रेसहोल्डको विपक्षमा साना दलहरुले धारणा राखेका थिए । तर, दाहालले ५ प्रतिशत नभएपनि ३ प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने बताएपछि मोर्चा विभाजित बन्न पुग्यो ।
कांग्रेस, एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु अहिले बालुवाटार पुगिसकेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए ।
