समाचारमंगलबार, जेठ २६, २०७२

प्रेत जस्तो भूकम्प: राष्ट्रपति यादव

रासस

राष्ट्रपति डा रामवरण यादवले एकताबद्ध भएर मुलुकको पुनःनिर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् ।

हालैका भूकम्पले गाउँ र बस्ती ध्वस्त बनाएको उल्लेख गर्दै उनले अब व्यवस्थित रुपमा नवनिर्माणलाई अघि बढाउन सबैको सहयोग अपरिहार्य रहेको बताए ।

“एकताबद्ध भएर मिलेर अघि बढौँ, व्यवस्थित निर्माणमा जुटौँ,” भूकम्पले पुर्‍याएको क्षति अवलोकन गर्न आज गोरखा सदरमुकाम आएका यादवले भने – “अब सबैले भूगोल र माटो अध्ययन गरेर घर बनाउनुपर्छ ।”

उनले भने, “संविधान निर्माणको बाटो खुलेको छ । अब छिट्टै संविधान निर्माण हुन्छ र देश विकासको पथमा लम्कने छ ।”

मनसुनअगावै अस्थायी प्रकृतिको ओत लाग्ने टहरो निर्माण गर्नुपर्ने सुझाव राष्ट्रपति यादवको छ । “म त ट्याब्लेट डाक्टर हुँ,” उनले भने, “इञ्जिनियरहरु, भूगर्भविद्हरु लगाएर भूगोलको परीक्षण गर्नुपर्छ । बस्ती बसाल्न हुने/नहुने यकिन गर्नुपर्छ ।”

प्राकृतिक पर्यावरणलाई बिगार्न नहुने भन्दै राष्ट्रपतिले थपे, “हिमाल र पहाडका ध्वस्त बस्तीलाई पुनःनिर्माण गर्नुपर्छ । प्राकृतिक सम्पदामा क्षति नपुर्‍याई व्यवस्थित बस्ती विकासमा हामी सबै जुटौं ।”

भूकम्पलाई भूत र प्रेतसँग तुलना गर्दै राष्ट्रपति यादवले भने, “भूकम्प भूत होइन प्रेत हो । भूत लाग्यो भने धामीझाँक्री लगाएर भगाउन त सकिएला । तर प्रेतलाई झाँक्रीले भगाउन सक्दैन ।”

भूकम्पले व्यवस्थित बस्ती विकास गर भन्दै ‘ढोका ढक्ढक्याउने’ काम गरेको राष्ट्रपति यादवको भनाइ थियो । हेलिकप्टरबाट बिहान गोरखा सदरमुकाम आएका राष्ट्रपति यादव भैरवी दल गणभित्र आयोजित कार्यक्रममा सरिक भएका थिए ।

भूकम्पपछिको उद्धार, राहत वितरण र त्यसमा देखिएका चुनौतीबारे गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले राष्ट्रपति यादवलाई जानकारी गराएका थिए ।

राष्ट्रपति यादवसँगै अर्थमन्त्री डा रामशरण महत, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा (संयुक्त) का नेता चन्द्रदेव जोशी पनि छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>