समाचारबुधबार, कार्तिक २२, २०६९
विपक्षीहरुले आन्दोलनको कार्यक्रम तयार पारे
नेपाली काङ्ग्रेसको पार्टी कार्यालय सानेपामा २२ कार्तिकमा बसेको कार्यदलको बैठकले वर्तमान सरकारको विरुद्धमा गरिने आन्दोलनको स्वरुपलाई अन्तिम रुप दिएको हो ।
आन्दोलनका कार्यक्रमको मस्यौदा २३ कार्तिकमा बस्ने विपक्षी दलहरुको संयुक्त बैठकमा पेश गरिने र त्यसैबेला सार्वजनिक गरिने कार्यदलका सदस्य नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले बताए ।
बजेट ल्याउनुअघि सहमतिको सरकार गठन गर्नुपर्नेमा निष्कर्ष निकाल्दै कार्यदलले सहमतिविना आउने बजेटको कुनै अर्थ नहुने आशयसहितको मस्यौदा तयार पारेको छ ।
२१ कार्तिकमा बसेको नेपाली काङ्ग्रेस र नेकपा एमालेको बैठकले आन्दोलनको स्वरुप, मितिलगायतका विषयको टुंगो लगाउन कार्यदल गठन गरेको थियो ।
कार्यदलमा काङ्ग्रेसबाट कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, एमालेका भीम रावल, रघुजी पन्त, नेकपा मालेका सीपी मैनाली र राप्रपाका दीपक बोहरा छन् ।
