समाचारमंगलबार, जेठ २६, २०७२
एमाओवादी र फोरम लोकतान्त्रिकबाहेक मोर्चाका दलहरु संविधानसभा बैठकमा अनुपस्थित हुने
संविधान निर्माणका लागि चार प्रमुख दलहरुबीच भएको सहमतिको विरोध गर्दै एमाओवादी र फोरम लोकतान्त्रिक बाहेक तीस दलीय मोर्चामा आवद्ध दलहरु संविधानसभा बैठकमा अनुपस्थित हुने भएका छन् ।
“चार दल मिलेर गरेको सहमति हामीलाई मान्य छैन, त्यसैले हामी संविधानसभामा प्रतिनिधित्व गर्ने करिब १४÷१५ दलहरु अनुपस्थित रहने छौं,” सदभावना पार्टीका महासचिव मनिषकुमार सुमनले बताए ।
उनले संघीय नेपालमा प्रदेशको सिमांकन संघीय आयोगले गर्ने भन्ने ४ दलले गरेको निर्णयप्रति आफूहरुको मुख्य विरोध रहेको जानकारी दिए ।
एमाओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चामा आवद्ध एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिक बाहेक अन्य दलहरुले उक्त सहमतिको विरोध गरेको सुमनले बताए ।
संविधानसभा बैठक आजै दिउँसो ३ बजे बस्दैछ ।
