समाचारमंगलबार, जेठ २६, २०७२

पुनःनिर्माणका लागि पैसाको कमी हुँदैन: मन्त्री महत

हिमालखबर

Ram-saran-mahatअर्थमन्त्री डा. रामशरण महतले भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माणको लागि पैसाको अभाव हुन नदिने दाबी गरेका छन् ।

भूकम्पपीडितलाई पहिलो चरणमा अस्थायी टहरो छाउने जस्तापाता किन्न रु १५ हजार उपलब्ध गराएको उल्लेख गर्दै अर्थमन्त्री महतले स्थायी संरचना निर्माणको क्रममा रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको तयारी रहेको बताए ।

भूकम्पले पुर्‍याएको जनधनको क्षतिबारे स्थलगत अवलोकनका लागि आज गोरखा सदरमुकाम आएका अर्थमन्त्री महतले अब व्यवस्थित संरचना निर्माणका लागि सरकारले भूकम्प पीडितलाई किस्ताबन्दीमा ऋण उपलब्ध गराउनेबारे छलफल भइरहेको जानकारी दिए ।

“नयाँ संरचना निर्माणका लागि पैसाको हर्ज हुँदैन” उनले भने, “राहतको लागि पैसा खर्च गर्ने होइन । व्यवस्थित वस्ती निर्माणका लागि पैसा खर्च गर्नुपर्छ ।”

गोरखाको उत्तरी सात गाविसमा रहेका एक हजार ७०० अस्थायी टहरो छाउन जस्तापाता ढुवानी गर्नुपर्ने भन्दै अर्थमन्त्री महतले नेपाली सेनासँग समन्वय गरेर हेलिकोप्टरमार्फत जस्तापाता ढुवानीको व्यवस्था मिलाउन आफूले पहल गर्ने बताए ।

गोरेटो, घोरेटो बाटो पहिरो गएपछि उत्तरी भेगमा खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकप्टर मात्रै विकल्प हो ।

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रभावित हुने गोरखा र धादिङका विभिन्न गाविसका स्थानीयवासीलाई मुआब्जा दिएर अन्यत्र स्थानान्तरण गर्ने सम्बन्धमा ऊर्जा मन्त्रालयलाई आवश्यक निर्देशन दिएको अर्थमन्त्री डा महतको भनाइ छ ।

“बूढीगण्डकी जलविद्युत्को विस्तृत परियोजना प्रतिवेदन करिब सकिएको छ” उनले भने, “अब धमाधम विभिन्न योजनाको लागि बोलपत्र आह्वान गर्नुपर्छ । अहिलेसम्म जग्गा अधिकरण गरिएको छैन ।”

“ऊर्जा मन्त्रालयले चाँडोभन्दा चाँडो काम गरोस् । जग्गा अधिकरणको प्रक्रिया थालोस् । जग्गाधनीलाई मुआब्जा दिन रकमको अभाव छैन” अर्थमन्त्री महतले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>