समाचारशुक्रबार, जेठ २९, २०७२
केही नेताहरुको खेलौना बन्यो संविधानसभाः थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभा केही नेताहरुको लाचार छायाँ र खेलौना बनेको आरोप लगाएका छन् ।
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा सहभागी हुँदै थापाले १६ बुँदे सहमतिपछि संविधानसभा ‘रबर स्ट्याम्प’ बनेको बताए ।
उनले भने, ‘‘जनताका प्रतिनीधिद्वारा जनताका लागि होइन, केही दलहरुको ‘सिण्डिकेट’का रुपमा संविधानसभाले काम गरिरहेको छ ।’’
प्रमुख दलहरुबीच २५ जेठमा विवादित विषयमा सहमति जुटेपछि संविधान निर्माण कार्य अघि बढेको छ । सम्वाद समितिको प्रतिवेदनमाथि अहिले सभासद्हरुले धारणा राखिरहेका छन् । बैठकको शुरुमा सम्वाद समितिका सभापति बाबुराम भट्टराईले प्रतिवेदन प्रस्तुत गरेपछि छलफल अघि बढेको छ ।
प्रतिवेदनमाथि छलफल सकिनासाथ आवश्यक सुझाव र निर्देशनसहित प्रारम्भिक मस्यौदा निर्माणका लागि मस्यौदा समितिमा पठाइनेछ । भट्टराईले पेश गरेको प्रतिवेदनमा राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चासहित राजनीतिक दलबाट १५ वटा फरक मतका प्रस्ताव प्रस्तुत गरिएका छन् ।
