समाचारशनिबार, जेठ ३०, २०७२

भूकम्पपछि बन्द सम्पदा सोमबारदेखि खुल्ला गरिने

हिमालखबर

गत १२ वैशाखको विनाशकारी भूकम्पले सम्पदालाई क्षति पुर्‍याएपछि बन्द भएको सम्पदा पर्यटकको अवलोकनका लागि आगामी सोमबारदेखि खुल्ला गरिने भएको छ ।

भूकम्पले विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायदेखि भक्तपुर नगरभित्रका धेरै सम्पदामा क्षति पुगेपछि पर्यटकको आगमनसमेत रोकिएको थियो ।

पर्यटकको आगमन पुनः सुरु गर्न नगरपालिकाले सोमबारदेखि सम्पदा अवलोकनका लागि खुल्ला गर्ने भएको हो ।

‘भक्तपुरका सम्पदा अब सुरक्षित छ’ भन्ने नाराका साथ पर्यटकलाई आह्वान गर्दै सम्पदा अवलोकनका लागि खुल्ला गर्न लागेको नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिए ।

भक्तपुर नगरपालिकाका अनुसार भूकम्पका कारण नगरक्षेत्रभित्र ६७ वटा सम्पदा पूर्णरुपमा क्षति भएको र ४९ वटा सम्पदामा आंशिक क्षति पुगेको छ ।

पूर्ण रुपमा क्षति भएका भक्तपुर नगरपालिका भवन, फसि देग, रामेश्वर मन्दिर, वतसला मन्दिर, नारायण मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, विश्वरुपा मन्दिर, सिद्धि गणेश मन्दिर, श्वेतभैरब मन्दिर, सिज महादेव, देगईना मन्दिर र ब्रम्हायणी मन्दिर रहेका छन् ।

त्यस्तै हनुमानघाटस्थित १२ वटा मन्दिर तथा शिवालय, भक्तपुरका विभिन्न देवताको घर अर्थात द्योः छे, सत्तल, पाटी, पुजारी मठहरूमा पूर्ण रुपमा क्षति पुगेको छ ।

नगरपालिकाले निकालेको प्रारम्भिक लगतअनुसार भक्तपुरका सम्पदाहरूको पुनःनिर्माण एवम् मर्मत गर्न रु २९ करोड ३२ लाख लाग्ने कार्यकारी अधिकृत रिजालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>