समाचारआइतबार, जेठ ३१, २०७२
सम्झौताको विकल्प थिएनः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे समझदारीले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “यो समझदारीपछि जनतामा नयाँ विश्वास पलाएको छ, राष्ट्रिय राजनीति स्थिरतातर्फ अग्रसर भएको छ ।’’
अध्यक्ष दाहालले आठ प्रदेशमा भएको समझदारी राजनीतिक शक्ति सन्तुलनको उपज भएको प्रष्ट पार्दै यसमा असन्तुष्टि जनाउनेहरुले समझदारीको वास्तविकता नबुझेको बताए ।
यो समझदारीलाई सत्ता समीकरणका रुपमा अपव्याख्या गर्न नहुने बताउँदै उनले भने, ‘‘तर, कुनै पनि राजनीतिक समीकरण स्थायी हुँदैन, परिस्थितिअनुसार फेरबदल हुन्छ ।’’
“आफ्नाे दलको सैद्धान्तिक अडान त पहिचानसहितको १० प्रदेश हो, संसदीय व्यवस्था नमान्ने नै हो, प्रत्यक्ष राष्ट्रपति निर्वाचन नै हो, तर मुलुकको वर्तमान राजनीतिक विशिष्ट परिस्थितिमा समझदारीमा जानुको विकल्प थिएन” उनले भने ।
समझदारीपछि असन्तुष्ट राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास हुने बताउँदै उनले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले हतारमा टिप्पणी गर्नुलाई सान्दर्भिक मान्न नसकिने बताए ।

