समाचारमंगलबार, आषाढ १, २०७२
सूचना माग्दै गंगामायाले निवेदन दिइन्
छोराको हत्यामा संलग्न दोषीमाथि कार्बाही भए नभएबारे सूचना माग्दै गंगामाया अधिकारीले प्रहरी प्रधान कार्यालयमा निवेदन दर्ता गरेकी छिन् ।
तत्कालीन नेकपा माओवादीद्वारा हत्या गरिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीकी आमा गङ्गामायाले प्रहरी प्रधान कार्यालय, नक्सालका सूचना अधिकारीलाई सम्बोधन गर्दै सूचना माग गरेको एडभोकेसी फोरम नेपालले जनाएको छ ।
निवेदनमा गङ्गामायाले पर्शुराम पौडेलसमेतका अभियुक्तलाई तारेखमा छाडिएको अवस्थामा पति÷पत्नी अनशन बसेको र अनशनकै क्रममा पतिको मृत्यु भएको उल्लेख छ ।
जाहेरवालामध्येका अधिकारी दम्पतीका जेठा छोरा नुरप्रसादसमेत सम्पर्कविहीन रहेका अवस्थामा चितवन जिल्ला अदालतबाट मुख्य अभियुक्त छविलाल पौडेलसमेतलाई तारेखमा छाडिएकाले न्यायका लागि आफू आमरण अनशनमा बसेको निवेदनमा उल्लेख छ ।
गङ्गामायाका कान्छो छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते चितवनमा हत्या भएको थियो । मृतककी आमाका नाताले सूचनाको हकसम्बन्धी ऐन, २०६४ भएको व्यवस्थाअनुसार निवेदन दर्ता गराउन आफू वीर अस्पताल ट्रमा सेन्टरमा अनशनरत भई अस्वस्थ भएकाले आफ्ना प्रतिनिधि विकास बस्नेतलाई पठाइएको निवेदनमा जनाइएको छ । रासस
