समाचारबिहीबार, आषाढ ३, २०७२
खोज पत्रकारिता अभियानमा चार पत्रकार छनोट
खोज पत्रकारिता केन्द्र र बेलायती राजदूतावासको सहकार्यमा स्थापित प्रतिस्पर्धात्मक खोज पत्रकारिता अभियान- २०१५ का लागि चार जना पत्रकार छनोट भएका छन् ।
छनोट भएका पत्रकारहरुमा नयाँ पत्रिकाका कल्पना भट्टराई, कान्तिपुर दैनिकका मकर श्रेष्ठ, नागरिक दैनिकका कलेन्द्र सेजुवाल र हिमाल खबरपत्रिकाका तुफान न्यौपाने छन् ।
छनोटमा परेका पत्रकारहरुले लन्डनस्थित थम्सन फाउन्डेशनले आयोजना गर्ने एक हप्ते खोज पत्रकारिता सम्बन्धी तालिममा सहभागी हुनुका साथै बेलायतका विभिन्न प्रकाशन गृह, संसद लगायतका स्थानहरुमा अध्ययन् भ्रमण गर्नेछन् ।
काठमाडौंस्थित बेलायती दूतावासमा २ असारमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत जोन रान्किनले खोज पत्रकारिता अभियानका लागि छनोटमा परेका पत्रकारहरुको नाम घोषणा गरेका हुन् ।
यसपटकको अभियानका लागि सेतो पाटीका प्रधानसम्पादक अमित ढकाल, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र उज्यालो नेटवर्कका निर्देशक गोपाल गुरागाईँ संलग्न ‘जुरी’ गठन गरिएको खोज पत्रकारिता केन्द्र अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
दीक्षितका अनुसार ‘जुरी’ले सन् २०१४ भरि प्रकाशित–प्रशारित तीन सय खोज समाचारको अध्ययन् अनुगमन गरी चार पत्रकारलाई चयन गरेको थियो ।
