समाचारबिहीबार, आषाढ ३, २०७२
पुनर्स्थापनाका लागि अबेर भयो

लमजुङ, इलमपोखरीस्थित बस्तीमाथि धाँजा फाटेको जमीन। तस्वीर: युवराज श्रेष्ठ
बाढी–पहिरोको उच्च जोखिममा रहेका लमजुङका भूकम्पपीडित जीविकोपार्जन सहितको पुनर्स्थापना पर्खिरहेका छन्।
१२ वैशाखको महाभूकम्पले उत्तरपूर्वी लमजुङको दूधपोखरी–७ गैरीगाउँलाई चिराचिरा पारिदिएको छ। धाँजाले गाउँलेको भोकनिन्द्रा हरेको र पानी पर्दा गाउँ नै जाग्राम बस्नुपरेको स्थानीय विष्णुलाल गुरुङले बताए। यस्तै, इलमपोखरी–५ ताजी गाउँ पनि पहिरोको उच्च जोखिममा छ।
गाउँमाथि ठूलो धाँजा फाटेको छ। स्थानीय क्षेत्रबहादुर गुरुङका अनुसार, तत्काल बस्ती नसरे बर्खामा पूरै गाउँ बग्ने अवस्था छ। अरू ठाउँमा घरजग्गा हुनेहरू सरिसके, नहुनेहरू मात्र गाउँमा रहेको उनी बताउँछन्।
दूधपोखरी–७ गैरीगाउँकै गौमाया गुरुङले सुरक्षित ठाउँमा बस्ने व्यवस्था गरिदिन सरकारसँग आग्रह गरिन्। इलमपोखरीका पूर्णबहादुर गुरुङले पनि बर्खा नलाग्दै टहरा बनाएर बस्न मिल्ने ठाउँ खोजिदिन आग्रह गरे।
जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिका अनुसार, महाभूकम्पपछि लमजुङमा ३४ गाउँका दुई हजार परिवारलाई तत्काल अन्यत्र सार्नुपर्ने भएको छ। समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना उनीहरूलाई यथाशक्य छिटो पुनर्स्थापना गर्ने प्रयास भइरहेको बताउँछन्।
भूकम्प प्रभावितहरूलाई राहत र पुनर्स्थापनाका लागि सरकारले प्रस्ताव गरेको सम्बन्धित क्षेत्रका निर्वाचित सभासद्को संयोजकत्वमा रहने समितिको कार्यादेशमा अन्य सभासद्, जिल्ला प्रशासन र जिविसका अधिकृत, भूमिसुधार, खानी तथा भूगर्भ विभाग र वन मन्त्रालयका जिल्ला कार्यालयका प्रमुख सदस्य रहने उल्लेख छ।
समितिले पुनर्स्थापनाको लागि उपयुक्त स्थान छनोट गर्ने भनिएको छ, जुन अहिलेसम्म हुनसकेको छैन। तर, अन्य नीतिगत अस्पष्टताका कारण बाढी–पहिरोको उच्च जोखिममा रहेकाहरूलाई पुनर्स्थापना गर्न ढिलो भएको क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् जमिन्द्रमान घले बताउँछन्।

बस्ने ठाउँको व्यवस्था गरिदिन अनुरोध गर्दै दूधपोखरी–७ गैरीगाउँकी गौमाया गुरुङ । तस्वीर: युवराज श्रेष्ठ
पुनर्स्थापनामा अनिच्छा
लमजुङको भोंजे, उपल्लो चिप्ला, दूधपोखरी, फलेनी, ढोडेनी लगायतका क्षेत्र महाभूकम्पअघि नै पहिरोको उच्च जोखिममा थिए। फलेनी र ढोडेनी गाविसको माथिल्लो क्षेत्रका ताँजे, सिमी, थुमस्वाँरा लगायतका गाउँलाई २०३२ सालमै अन्यत्र सार्ने प्रयास भएको थियो, तर गाउँलेले थातथलो छाड्न नमान्दा त्यसै छोडिएको थियो।
ढोडेनी गाउँ पंचायतका तत्कालीन प्रधानपंच गजबहादुर गुरुङ भन्छन्, “त्यतिवेला अन्यत्र जाँदा आर्थिक–सामाजिक हैसियत सहितको जीविकोपार्जनमा समस्या हुने डरले गाउँले सर्न मानेका थिएनन्।”
भोंजेका दूधरास गुरुङ अहिले पनि आफ्नो सबथोक छोडेर अन्यत्र जान मुश्किलै पर्ने तर, पहिरोले अहिले नै एउटा विद्यालय र ६० वटा घर बगाइसकेको बताउँछन्।
“एकातिर यस्ता धाँजा गाउँलेको मनमा गहिरोसँग गढेको छ, अर्कातिर बर्खा लागिसक्यो, कहाँ जाने? गए पनि नयाँ ठाउँमा जीविका नहोला कि भन्ने चिन्ता छ”, घेर्मुका कुमेर गुरुङ भन्छन्।
युवराज श्रेष्ठ, लमजुङ
