समाचारशुक्रबार, आषाढ ४, २०७२
एसएलसीको नतिजा प्रकाशित
गत वर्ष २०७१ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
परीक्षामा नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए । प्राप्त नतिजाअनुसार कुल उत्तीर्ण संख्या एक लाख ९२ हजार २६७ छ ।
यस्तै, विशिष्ट श्रेणीमा २१ हजार २४७, प्रथम श्रेणीमा ९० हजार १७६, द्वितीय श्रेणीमा ७६ हजार ४८२ र तृतीय श्रेणीमा चार हजार ३६२ जना उत्तीर्ण भएका छन् ।
अघिल्लो वर्ष ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
विसं २०७१ को नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५ ले आवेदन दिएकामा चार लाख ५३ हजार ३८ ले परीक्षा दिएका थिए । पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार २८८ विद्यार्थी सहभागी थिए ।
यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार एसएमएस गरेर वा इन्टरनेट मार्फत पनि परीक्षाफल थाहा पाउन सकिन्छ । परीक्षाफलका लागि SLC स्पेस सिम्वोल नम्बर लेखेर ५५६६, १६००, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।
यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।
यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np, परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np साथै www.slc.ntc.net.np मा परीक्षाफल हेर्न सकिन्छ ।
प्राविधिक विषयको नतिजा एक हप्ता ढिलो हुने
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र ग्रेडिङ पद्धतिबाट हुने द्वारेले बताए ।
