समाचारमंगलबार, आषाढ ८, २०७२

अन्तर्राष्ट्रिय दातृ सम्मेलन सम्बन्धमा दलबीच छलफल

हिमालखबर

१० असारमा हुने नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धमा सरकारमा रहेका र सरकार बाहिर रहेका दलहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले दातृ सम्मेलन सम्बन्धमा भइरहेका तयारीबारे जानकारी गराएका थिए ।

छलफलका लागि आयोजित बैठकमा प्रधानमन्त्री कोइरालासहित सरकारका मन्त्रीहरु, एमाओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी तथा राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

बैठकपछि अर्थमन्त्री डा रामशरण महतले सम्मेलनका लागि भइरहेका कामका सम्बन्धमा दलहरुलाई जानकारी गराइएको र दलका तर्फबाट सुझावहरु लिइएको बताए ।

“सम्मेलनका लागि निर्धारित कार्यतालिकाअनुसारको सबै तयारी तीव्ररुपमा अघि बढिरहेको छ । हालसम्म विभिन्न ५३ राष्ट्र एवम् संस्थाका २२३ जना विदेशी पाहुना सम्मेलनमा आउने निश्चित भइसकेको छ” – उनले भने ।

दातृ सम्मेलन अगावै पुनःनिर्माणलगायतका कुराका लागि संस्थागत निर्णय आवश्यक रहेका कारण ‘भूकम्प प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२’ जारी गरिएको उनले बताए ।

नेकपा एमालेका वरिष्ठ नेता खनालले बैठकमा दातृ सम्मेलन सम्बन्धमा विभिन्न राजनीतिक दलका दर्फबाट सरकारलाई सुझावहरु प्राप्त भएको बताए ।

पुनःनिर्माणको कार्यलाई नेपालीपनअनुसार अघि बढाउनुपर्ने लगायतका विषयमा बैठकमा सुझाव आएको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले कानुनी शासन, पारदर्शिताजस्ता कुराको प्रत्याभूति विदेशी दातृनिकायलाई दिनु आवश्यक रहेकालगायतका विषयमा बैठकमा सुझाव प्रस्तुत भएको बताए ।

सामाजिक न्यायमा आधारित भई पीडितले समान अवसर पाउने गरी राहत तथा सहयोग वितरण कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा नेताहरुको जोड थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>