समाचारबुधबार, आषाढ ९, २०७२
अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरु उच्चस्तरीय भेटघाटमा व्यस्त

अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुखसहितको टोली प्रधानमन्त्रीसँग भेट गर्दै । तस्वीर: रासस
भोलि १० असारमा आयोजना हुन गइरहेको ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–२०१५’ मा सहभागी हुन नेपाल आएका प्रतिनिधिहरु उच्चस्तरीय भेटघाटमा व्यस्त भएका छन् ।
सम्मेलन अघि नेपाल आइपुगेका प्रतिनिधिहरुले प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री तथा सम्मेलन तयारी समितिका संयोजक डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलगायतका नेपालका उच्च अधिकारीसँग भेटघाट गरेका छन् ।
त्यस्तै, सरकारले सम्मेलनका सहभागीलाई भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको स्थलगत अवलोकनका लागि राजधानीको बसन्तपुर, साँखुलगायतका स्थानमा भ्रमणको प्रबन्ध मिलाएको छ ।
प्रधानमन्त्री कोइरालासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्य, नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक जेमी म्याकगोल्डरिक र इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस रेड क्रिसेन्ट सोसाइटीजका अध्यक्ष तादातेरु कोनोइले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरे ।
सो अवसरमा अध्यक्ष कोनोइले महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट जुटाएको सहयोग नेपाल रेडक्रसमार्फत वितरण गर्दैआएको जानकारी दिँदै पुनःनिर्माण सम्मेलन सफल हुने विश्वास व्यक्त गरेका थिए ।
उनले भूकम्पपछिको नेपाललाई राहत, पुनःस्थापना र पुनःनिर्माण कार्यमा आवश्यक स्रोत साधन जुटाउन सङ्घले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी गराएका थिए ।
सम्मेलनको पूर्वसन्ध्यामा चीनका विदेशमन्त्री वाङ यी, भारतका विदेशमन्त्री सुष्मा स्वराज, नर्वेका विदेश मन्त्री बर्ग ब्रेन्डे, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले पनि प्रधानमन्त्री कोइरालासँग भेट गरी सम्मेलनबारे छलफल गर्ने कार्यक्रम तय भएको छ ।
सरकारले प्रबन्ध गरेअनुसार आज सम्मेलनका आउनुभएका ३४ जना विशिष्ट अतिथिले भूकम्पबाट क्षतिग्रस्त बसन्तपुरका ऐतिहासिक एवम् पुरातात्विक महत्वका क्षेत्रको स्थलगत अवलोकन गरे ।
त्यस क्रममा युनेस्को प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टिन मार्टिन, जापानी सहयोग नियोग जाइकाका प्रमुख डा आकिहिको तानाका, श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजेलगायतले बसन्तपुर क्षेत्रको अवलोकन गरे ।
त्यसैगरी, सम्मेलनमा सहभागी हुन आउनुभएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको ऐतिहासिक सहर साँखुको पनि अवलोकन गरे ।
सम्मेलनमा भाग लिन आएका भुटान, श्रीलङ्का, अस्ट्रेलिया, नर्वे, विश्व बैंक, डेनमार्क, फिनल्यान्ड, जाइका, एसियाली विकास बैंकलगायतका ४० विशिष्ट अतिथिहरु अवलोकन भ्रमणमा सम्मिलित थिए ।
मुलुकको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउने उद्देश्यले आयोजना गरिने सो सम्मेलनको उद्घाटन १० असार बिहान प्रधानमन्त्री कोइरालाले गर्नेछन् ।
सम्मेलनमा अनुभव, विपद् व्यवस्थापनका विधि र नेपालले सिक्नुपर्ने पाठ तथा भविष्यमा अवलम्बन गर्नुपर्ने रणनीतिबारे विकासका साझेदार, द्विपक्षीय एवम् बहुपक्षीय दातृ निकायका सुझाव लिइने अर्थ मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा छलफलका लागि राष्ट्रिय योजना आयोगले भूकम्पपछिको पुनःस्थापना तथा पुनःनिर्माणका निम्ति रु छ खर्ब ६९ अर्ब आवश्यक रहने ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ (पिडिएनए) प्रतिवेदन तयार गरिसकेको छ ।
अर्थ मन्त्रालयले सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको बताएको छ । सम्मेलनमा सहभागिताका निम्ति २३ बहुपक्षीय, ४० द्विपक्षीय, चार ‘एजेन्सी’ र तीन व्यक्तिलाई आमन्त्रण गरिएकामा अहिलेसम्म ती सबै निकायबाट २३९ जनाबाट सहभागिताको सुनिश्चितता भएको छ ।
रासस
