समाचारबिहीबार, आषाढ १०, २०७२
दाता सम्मेलन: पुननिर्माणमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशील कोइरालाले नेपाल भूकम्पबाट भएको क्षतिपछि पुनःनिर्माणको यात्रामा रहेको भन्दै सक्दो सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
भूकम्पबाट उत्पन्न विषम परिस्थिति तथा देशलाई पुनःनिर्माण एवम् विकासको बाटोमा अझ प्रभावकारी ढङ्गले अघि बढाउने नेपालको अभियानमा सहभागिताका लागि मित्रराष्ट्र, विकासका साझेदार, शुभचिन्तक, बहुपक्षीय एवम् द्विपक्षीय दातृ निकायको काठमाडौंमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्री कोइरालाले उक्त अनुरोध गरेका हुन् ।
भूकम्पपीडितसमक्ष सहायता पुर्याइने, पारदर्शिता कायम गर्ने र मुलुकको विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गर्ने प्रतिबद्धता पनि कोइरालाले व्यक्त गरे।
उनले राष्ट्रिय एकता र मेलमिलापप्रति नेपालका राजनीतिक दलले अभूतपूर्व प्रतिबद्धता जाहेर गरेका र त्यसैको परिणामस्वरुप संविधानलेखनका दिशामा पछिल्लो समयमा प्रगति भएको बताए ।
विधिको शासन, मानवअधिकारको संरक्षण एवम् प्रवर्द्धन, सुशासन कायम गर्दै प्रजातान्त्रिक संस्थाहरूको सुदृढीकरण तथा तिनलाई जनताप्रति उत्तरदायी बनाउने दृढता पनि उनले व्यक्त गरे ।
प्रधानमन्त्री कोइरालाले पञ्चशील, संयुक्त राष्ट्रसङ्घको वडापत्र र अन्तर्राष्ट्रिय कानून नेपालको परराष्ट्र सम्बन्धका आधार भएका बताउँदै शान्ति, मैत्री र सहयोगलाई नेपालले शुरुदेखि नै आत्मसात् गर्दै आएको स्पष्ट पारे ।
सम्मेलनको प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले लेखाजोखा गर्नै नसक्ने गरी भूकम्पबाट ठूलो क्षति भएको तथा सामाजिक एवम् मानव विकासका क्षेत्रमा भएका प्रगतिमा पनि अथाह नोक्सानी भएको बताए ।
विपद्का बेला मानवीय सहायता, उद्धार र राहतका निम्ति अन्तर्राष्ट्रिय जगत्बाट तत्काल उपलब्ध सहयोगको सराहना गर्दै उनले भैँचालोबाट भौतिक संरचनामा भएको अकल्पनीय विनाश र अबको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणमा नेपालका विकासका साझेदार र दातृ निकायको साथ एवम् समर्थन अपरिहार्य भएको बताए ।
भूकम्पबाट नेपालको भूमि हल्लिए पनि नेपाली जनताको साहस, पुनःनिर्माण र अझ राम्रो निर्माणको दृढ इच्छा शक्तिमा कुनै असर नपरेको उनको भनाइ थियो ।
महाविपत्तिका बेलामा पनि नेपालीले धैर्य र सहिष्णुता नगुमाएका उनले उल्लेख गरे ।
सम्मेलन आयोजक समितिका संयोजक अर्थमन्त्री डा रामशरण महतले दातृ समुदायबाट आर्थिक सहायता याचनाका निम्ति मात्र सम्मेलन आयोजना नगरिएको बताउँदै विपद् व्यवस्थापन, त्यसपछिका अवधिमा अवलम्बन गर्नुपर्ने काम, सीप र अनुभव आदानप्रदान गर्नु पनि सम्मेलनको उद्देश्य भएको स्पष्ट पारे ।
आर्थिक एवम् सामाजिक विकासको बाटोमा निरन्तर उकालो लागिरहेका बेला भैँचालोले विशाल विनाश गरेको र विकासका पूर्वाधार तहसनहस पारेकाले भूकम्पअघिकै अवस्थामा देशलाई फर्काउन नेपाल सरकार र नेपाली जनता दृढताका साथ अघि बढिरहेका उनले बताएका छन् ।
