समाचारशुक्रबार, आषाढ ११, २०७२
असहमति राखेर भएपनि चाडो संविधानः एमाओवादी
एमाओवादीले सहमति जुट्न नसकेका नयाँ संविधानका अन्तर्वस्तुमा ‘असहमति जनाएर’ भएपनि चाँडो संविधान जारी गर्ने निर्णय गरेको छ ।
११ असारमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको वैचारिक बहस व्यवस्थापन समितिको बैठकले मस्यौदा समितिबाट निर्धारित समयभित्रै मस्यौदा बन्ने अवस्था निर्माण गर्ने निर्णय गरेको छ । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माका अनुसार अडानको कारण संविधान निर्माणमा विलम्ब हुने अवस्था आउन नदिने निर्णय भएको छ ।
शर्माले भने, ‘‘सहमति जुट्न नसकेको विषय जनतामा लिएर जाने तर, संविधान निर्माणको क्रममा अडान लिएर बसिनरहने निर्णय भएको छ ।’’ एमाओवादीले सर्वाेच्च अदालतबाट भएको आदेश सच्याउन आग्रह गर्ने निर्णय गरेको छ ।
१६ बुँदे राजनीतिक सहमतिपछि अघि बढेको कोर्सलाई चाँडो भन्दा चाँडो टुंग्याउनेगरी संविधान निर्माण प्रक्रिया अघि बढाउन सहयोग गर्न आफ्ना सभासदहरुलाई एमाओवादीले निर्देशन दिएको छ । संविधानसभा नियमावली अनुसार जनतामा मस्यौदा लैजाने कामलाई राजनीतिक सहमतिको आधारमा छोट्याउन छलफल भइरहेको शर्माले बताए ।
