समाचारशुक्रबार, कार्तिक २४, २०६९
सहमति कायम गरः राष्ट्रपति, बजेट रोकिंदैनः दाहाल
राष्ट्रपति भवन शीतल निवासमा २४ कार्तिक बिहान करिब एक घन्टा भएको भेटवार्तामा राष्ट्रपति यादवले दलहरूबीच लामो समयसम्म सहमति कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै ‘ठूलो पार्टी’ का नेताको हैसियतले दलहरूबीच सहमतिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न अध्यक्ष दाहाललाई आग्रह गरे ।
भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै अध्यक्ष दाहालले बजेटका लागि हरसम्भव सहमतिको प्रयास गरिने तर, त्यो सम्भव नभए बजेट नरोकिने र सहमति नभए पनि अगाडि बढ्ने बताए ।
राष्ट्रपतिले विपक्षी राजनीतिक दलको लिखित माग आएपछि बजेटसम्बन्धी विषय जटिल बनिरहेकाले सो विषयमा दलहरूबीच सहमति हुन जरुरी रहेको भनाइ राखेको पनि दाहालले जानकारी दिए ।
जवाफमा आफूले बजेटलगायत वर्तमान राजनीतिक र संवैधानिक गतिरोध अन्त्यका लागि सक्दो प्रयास गर्ने वचन दिएको दाहालले बताएका थिए ।
