समाचारआइतबार, आषाढ १३, २०७२

भूकम्पपछि विराटनगरमा विद्यार्थीको चाप

हिमालखबर

पूर्वाञ्चलका विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौँ जाने विद्यार्थीहरु घर नजिकै पढ्न खोज्दा विराटनगरका उच्चमाविमा विद्यार्थीको चाप बढेको छ ।

गत १२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछि गइरहेका परकम्पका कारण प्रवेशिका दिएपछि काठमाडौँमा पढ्न गएका पूर्वका धेरै विद्यार्थी घर फर्किएका र काठमाडौँसँग प्रतिस्पर्धा गर्न सक्ने उच्च मावि विराटनगरमै भएकाले पूर्वका विभिन्न जिल्लाका विद्यार्थीको आकर्षण यहाँका उच्च मावि बनेका हुन् ।

भूकम्प मात्रै कारण नभई विराटनगरका उच्च माविको गुणस्तर पनि विद्यार्थी आकर्षणको कारण भएको उमावि सङ्घ (हिसान) मोरङका अध्यक्ष बलराम पन्तको दाबी छ ।

अध्यक्ष पन्तका अनुसार यहाँ स्वास्थ्य र इन्जिनियरिङ विषयका प्राविधिक कलेज सञ्चालनमा छन् । यी कलेजमा स्टाफ नर्स, ल्याब असिस्टेन्ट, रेडियोलोजी, अनमी, फार्मेसी, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङलगायत विषयको पठनपाठन हुने गरेको छ ।

यी विषय मात्रै हैन विराटनगरमा पर्यटन तथा होटल व्यवस्थापनको पनि पढाइ हुने गरेको छ ।

हिसानका अनुसार विराटनगरमा हाल १६ संस्थागत उच्च मावि सञ्चालनमा छन् । करिब १० सामुदायिक उच्च मावि पनि सञ्चालनमा आइसकेका छन् ।

विराटनगरका उच्च माविमा विराटनगरआसपास रङ्गेली, उर्लाबारी, वेलबारी, हरैंचा, सुनसरीको इनरुवा, इटहरी, दुहवीलगायत पूर्वका पहाडी जिल्लाबाट पनि प्रशस्तै विद्यार्थी आउने गरेको हिसानले जनाएको छ ।

विराटनगरका उच्च माविमा अध्ययन गरेका विद्यार्थीको उच्च शिक्षामा राम्रो नतिजा आउने गरेको एभरेस्ट उच्च मावि विराटनगरका प्राचार्य टीकाराम पुरी बताउँछन् ।

उच्च माध्यमिक तहका अप्राविधिक विषयमा मात्रै हैन प्राविधिक शिक्षा अध्ययन गर्नेका लागि पनि विराटनगर रोजाइमा पर्न थालेको छ ।

विराटनगरमा सञ्चालनमा रहेका आधा दर्जन प्राविधिक शिक्षाका कलेजले प्राविधिक शिक्षा लिने विद्यार्थीको चाहना पनि पूरा गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>