समाचारआइतबार, आषाढ १३, २०७२
जेएनले केपीलाई भने, ‘प्रत्युत्पादक निर्णय नलिनुहोस्’
राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्तिको विषयलाई लिएर नेकपा एमालेमा चर्काे विवाद उत्पन्न भएको छ ।
पार्टीको सिफारिस बिना राखेपको सदस्य सचिवमा एमाले निकट खेलकुद महासंघका कार्यबाहक अध्यक्ष केशव बिष्टलाई नियुक्त गरिएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले खेलकुद मन्त्री पुरुषोतम पौडेललाई राजिनामा दिन दबाव दिएपछि एमालेभित्र विवाद चर्किएको हो ।
ओलीले आफ्नै निवास बालकोटमा बोलाएर राजिनामा दिन दबाव दिएपनि मन्त्री पौडेलले राजिनामा दिएनन् । उनलाई १३ असारको कार्यालय समयभित्रै राजिनामा दिन निर्देशन दिइएको थियो ।
मन्त्रीबाट फिर्ता बोलाउने ओलीको निर्णयप्रति बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र बरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतमले समेत आपत्ति जनाएका छन् । उनीहरुले पार्टी अध्यक्ष ओलीलाई निर्णय सच्याउन आग्रह गरेका थिए ।
१२ असारमै बरिष्ठ नेता नेपालले नियुक्तिकै विषयलाई लिएर मन्त्री फिर्ता बोलाउने निर्णय फिर्ता लिन ओलीलाई सल्लाह दिए । लगत्तै बरिष्ठ नेता खनालले ओलीलाई फोन गरेर प्रत्युत्पादक निर्णय नलिन आग्रह गरे । स्रोतका अनुसार ओलीलाई खनालले टेलिफोनमार्फत भने, ‘‘आफूखुशी निर्णय नलिनुहोस्, यो प्रत्युत्पादक हुन्छ ।’’
गौतमले पनि ओलीलाई यस्तो निर्ण नलिन सल्लाह दिएका थिए । बरिष्ठ नेताहरुकै चर्काे विरोधपछि तीन जना मन्त्रीहरुलाई लगातार फिर्ता बोलाएर नयाँ नियुक्त गर्दै आएका ओली पौडेललाई हटाउनेबारे अनिर्णयमा पुगेका छन् ।
पार्टी सचिव प्रदिप ज्ञवालीले हिमालखबरसँग मन्त्री पौडेललाई फिर्ता बोलाउने निर्णय नभएको प्रतिक्रिया दिए । जबकी दिनभर मन्त्री पौडेललाई पार्टीले फिर्ता बोलाएको चर्चा चलेको थियो । सदस्य सचिव बिष्टलाई हटाउने निर्णय फिर्ता नलिने अडान मन्त्री पौडेलले लिएपछि उनैलाई मन्त्रीबाट हटाउने ओलीको निर्णय विरुद्ध बरिष्ठ नेता नेपाल पक्षको बैठक नै बसेको छ ।
उपत्यकामा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बसेर ओलीले मन्त्री पौडेललाई जबर्जस्ती हटाए प्रतिरोधमा उत्रने निर्णय गरेको छ । पार्टी अध्यक्ष ओली लगातार एक्लौटी निर्णय गर्दै अघि बढेकाले प्रतिरोधमै उत्रने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।
नेपाल पक्षलाई खनाल र गौतमले समेत साथ दिएपछि ओली झस्किएका छन् । नेपाल निकट रहेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री भन्छिन्, ‘‘मन्त्री फिर्ता बोलाउने निर्णय नसच्याए पार्टी अध्यक्षले महँगो मूल्य चुकाउनुपर्नेछ ।’’
ओली पक्षका नेताहरुले भने दूरगामी असर पु¥याउने सदस्य सचिव जस्तो पदमा मन्त्रीले स्वेच्छाचारी निर्णय गरेकाले फिर्ता बोलाउने निर्णय गरिएको जनाएका छन् । ओली पक्षले बिष्टको ठाउँमा केही समयअघि एमालेमा फर्किएका केशव स्थापित वा काभ्रे एमालेका पूर्व जिल्ला अध्यक्ष गोकुल बास्कोटालाई नियुक्त गर्ने तयारी गरेको स्रोत बताउँछन् ।
