समाचारसोमबार, आषाढ १४, २०७२
मधेश केन्द्रीत दलहरुले मस्यौदामा असहमति जनाउने
मधेश केन्द्रीत चार दलले नयाँ संविधानको मस्यौदामा असहमति जनाउने भएका छन् ।
अन्तरिम संविधान–२०६३, को भावना बिपरीत प्रमुख चार दलले गरेको १६ बुँदे राजनीतिक सहमति अनुसार बनेको मस्यौदामा असहमति जनाएर जाने निर्णय भएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए ।
उनका अनुसार संविधानसभाको बैठकमा पेश हुने मस्यौदाप्रति शान्तिपूर्ण ढंगले असहमति जनाउने मोर्चाले निर्णय गरेको छ । २५ जेठमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबीच भएको १६ बुँदेप्रति असहमति जनाउँदै आएका यी दलहरू संविधान निर्माण प्रक्रियामा भने सहभागी छन् ।
हिमालखबरसँग महासचिव सुमनले भने, ‘‘शान्तिपूर्ण विरोध, रोष्टम घेराऊ र असहमति जाहेर गर्ने निर्णय भएको छ ।’’ मधेशी जनाधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीबीच एकता भएपछि अहिले यो मोर्चामा चार दल छन् ।
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले अदालतको आदेश नमान्दै अगाडि बढेको संविधान निर्माण प्रक्रियामा विरोध जनाउँदै जाने बताए । उनले भने, ‘‘संविधानसभा बहिष्कार गर्ने भन्ने होइन, तर असहमति दर्ता गराउँदै जान्छौं ।’’
नयाँ संविधानको एकीकृत मस्यौदा आज साँझ ७ बजे बस्ने संविधानसभा बैठकमा पेश गर्ने कार्यतालिका निर्धारण भएको छ ।
