समाचारमंगलबार, आषाढ १५, २०७२

संविधानको मस्यौदामा फेरि किचलो

हिमालखबर

संविधानसभा नियमावली निलम्बन गरेर द्रुत मार्गबाट संविधान जारी गर्ने पूर्वसहमति विपरीत प्रमुख चार दलभित्रैबाट शब्दहरूमा थपघट हुन थालेपछि संविधानको मस्यौदामा फेरि किचलो सुरु भएको छ।

मस्यौदामा दलहरूबीच उत्पन्न किचलो मध्यरातसम्म पनि साम्य हुन नसकेपछि राति पौने एक बजे बसेको संविधानसभा बैठकमा मस्यौदा प्रस्तुत हुन सकेन।

दलहरूबीच मौलिक अधिकार, नागरिकताको अधिकार, राज्यका निर्देशक सिद्धान्त, महिलाको अधिकार, विशेष संरचनाजस्ता विषयमै विवाद देखिएपछि संविधान निर्माणमा किचलो देखिएको छ।

दलहरूबीचको छलफल कुनै टुंगोमा पुग्न नसकेपछि पौन एक बजे बसेको संविधानसभा बैठक दिवंगत सभासद् पद्मसुन्दर लावतीको शोकप्रस्ताव पारित गरेर टुंगिएको थियो।

संविधानसभाको अर्को बैठक मंगलबार दुई बजे बस्ने तय भएको छ। मंगलबार तीन बजे संसदको बैठक पनि तय गरिएको छ।

संविधानको मस्यौदामा कांग्रेसले आफूहरूलाई ‘चिटिङ’ गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमाओवादीका सभासद्ले हस्ताक्षर गर्न अस्वीकार गरेपछि दलहरूबीचको विवादले मस्यौदा निर्माणमा किचलो आएको हो।

संविधानसभा भवन बानेश्वरमा संविधानसभाको बैठक स्थगन गरेर शीर्ष नेताहरू चार घन्टा छलफलमा जुटे पनि सहमतिमा पुग्न नसकेपछि संविधानसभामा मस्यौदा पेस हुन सकेन।

अघिल्लो दिन सहमति भएका विषयमा पनि कांग्रेस, एमाले र एमाओवादीबीचमा भाषा र शब्दावलीमा विवाद भएपछि दुईपटक सारेर राति नौ बजेका लागि बोलाइएको संविधानसभाको बैठक मध्यरातपछि बसेको हो ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>