समाचारमंगलबार, आषाढ १५, २०७२
बालविवाह रोक्ने देउता !

बालविवाह गराउने छैनौं भनी लिंगसैनी देउताको नाममा कसम खाँदै पाँखाबासी । तस्वीर: तीला भण्डारी
छिमेकीको लहैलहै र लाडु (कसार) खाने लोभमा १४ वर्षकै उमेरमा छोरीको विवाह गरिदिएका पाँखा, कालिकोटका हरसिङे दमाई (७२) सँग अहिले पछुतो मात्र बाँकी छ । २०६१ सालमा विवाह गरेकी छोरी तीन वर्ष नपुग्दै २०६३ सालमा तल्लोपेट दुख्दादुख्दै बितिन् ।
१७ वर्षमै जेठी छोरी गुमाउनुको पीडा दमाईका मनमा खिल झैं रोपिएको छ । त्यही खिल झिक्न उनी २७ जेठमा पाँखा गाविसमा आयोजित बालविवाहमुक्त घोषणा कार्यक्रममा पुगे । र, सबैसामु घोषणा गरे, “सानैमा बिहे गरिदिनु ठूलो गल्ती रहेछ, बल्ल आँखा खुलेको छ, अब अरू छोराछोरीको उमेर नपुग्दै बिहे गर्दिनँ ।”
यसका लागि उनले लिंगासैनी देउता भाकेर कसम खाए । उनी जस्तै सम्पूर्ण गाविसवासीले लिंगासैनीको नाममा बालविवाह नगरिदिने अठोट गरे ।
अब पाँखागाउँ बालविवाह मुक्त गाविस बनेको छ । चारवर्षदेखि यो अभियानमा सक्रिय गाउँ बालसंरक्षण तथा संवद्र्धन उपसमितिका संयोजक राजपुरा चौलागाई भन्छिन्, “धेरै प्रयास गरेपछि अहिले सफल भयौं ।”
बाल क्लब पाँखाकी अध्यक्ष कान्छी मल्ल (१६¬) ६ महीनादेखि गाउँमा एउटै पनि बालविवाह नभएको बताउँछिन् । उनका अनुसार बालविवाह गर्ने/गराउनेलाई बहिष्कार गर्ने चेतावनी दिइएको छ ।
गाउँलेले लिंगासैनी देउता नै भाकेका कारण आइन्दा बालविवाह नहुनेमा सबै विश्वस्त छन् । स्थानीय हीरालाल चौलागाई पाँखावासीका मुख्य देउता लिंगासैनीसँग गरेको कबूल पूरा नगरे अनिष्ट हुने विश्वासका कारण गाउँमा बालविवाह नहुने तर्क गर्छन् ।
पाँखागाउँमा ६ हेक्टर क्षेत्रफलमा फैलिएको लिंगासैनी जंगल छ । जंगलको बीचमा लिंगासैनी मन्दिर छ । जहाँ हरेक महीनाको पूर्णिमाका दिन पाठाको बलिसहित पूजाआजा गरिन्छ ।
पाँखा ४ दसलाकी कुसुमकला मल्ल (३०) भन्छिन्, “मन्दिरभित्र थानमा हामी महिलालाई जान दिंदैनन्, बाहिरबाटै हेर्छौं ।” धार्मिक आस्थाका कारण लिंगासैनी जंगल अहिलेसम्म हराभरा छ ।
स्थानीयको लिंगासैनी देउताप्रतिको भक्तिकै कारण सभासद् तुलाराज बिष्टले देउताको नाममा कसम ख्वाएर बालविवाहविरुद्ध प्रतिबद्धता जनाउने उपाय सुझएका थिए ।
नेकपा (एमाले) का तर्फबाट सभासद् उनी स्वयंले पनि देउताको नाम उच्चारण गर्दै बालविवाहविरुद्ध लाग्ने कसम खाए । पाँखा जिल्लाको चौथो बालविवाहमुक्त गाविस हो । यसअघि जुविथा, छाप्रे र सुकाटिया बालविवाहमुक्त घोषणा भइसकेका छन् ।
तीला भण्डारी, कालिकोट
