समाचारबुधबार, आषाढ १६, २०७२
कृषिमन्त्री पराजुलीलाई कार्वाही गर्न सभासदहरुको माग
१५ असारमा धान दिवस मनाउने क्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथि अमर्यादित व्यवहार गरेको भन्दै सभासद्हरुले कार्वाहीको माग गरेका छन् ।
१६ असारमा बसेको व्यवस्थापिका संसदको बैठकमा बोल्दै एमाओवादी सभासद् जनार्दन शर्माले पराजुलीले महिलाप्रति अशिष्ट र अमर्यादित गरेर नेपालीको शीर निहुराउने काम गरेको बताए ।
उनले त्यसबारे सरकारको धारणा माग गर्दै मन्त्री पराजुलीको व्यवहार सामाजिक मर्यादा विपरित रहेको र उनको व्यवहारले समग्र महिलाकै अपमान गरेको टिप्पणी गरे ।
नेपाल मजदुर किसान पार्टीकी नेतृ अनुराधा थापाले मन्त्री पराजुलीलाई कानून बमोजिम कार्वाही गर्न माग गरिन् ।
धान दिवसको अवसरमा कृषि विभागले काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले महिलाहरुलाई जबर्जजस्ती अंगालो हाली अभद्र र अमर्यादित क्रियाकलाप गरेको आरोप लागेको छ ।
मन्त्रीको हर्कतको व्यापक आलोचना भइरहेका सामाजिक सञ्जालहरुमा मुलपानीमा उनले गरेका क्रियाकलापका तस्वीर र भिडियो पनि ‘भाइरल’ भएका छन् ।
