समाचारशुक्रबार, आषाढ १८, २०७२
अघि बढ्यो संविधान निर्माण प्रक्रिया
राप्रपा नेपालले जारी राखेको नाराबाजीका बीच संविधानसभाले संविधान निर्माणको प्रक्रिया अघि बढाएको छ ।
दिउँसो १ बजेबाट बैठक सुरु भएलगत्तैदेखि राप्रपा नेपालले रोष्टम घेराउ गर्दै नाराबाजी गरेको थियो । राप्रपा नेपालले लगातार पाँच घण्टासम्म नाराबाजी गरिरह्यो ।
धेरै पटक संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नाराबाजी रोक्न आग्रह गर्दा पनि राप्रपा नेपालले नाराबाजी नरोकेपछि प्रक्रिया अघि बढाइएको छ । सभाध्यक्ष नेम्वाङले नाराबाजी भइरहेकै समया एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेललाई मस्यौदा समितिले तय गरेको नयाँ संविधानको मस्यौदा राजपत्रमा प्रकाशित गर्न अनुमति प्रस्ताव राख्न समय दिए ।
नेम्वाङले समय दिएपछि होहल्लाबीच नै पोखरेलले प्रस्ताव पेश गरेका थिए भने ध्वनी मतले पारित भयो । उक्त मस्यौदामाथि १९ असार विहान ११ बजेबाट छलफल सुरु हुने जानकारी सभाध्यक्ष नेम्वाङले गराएको सभासद पाँचकर्ण राईले बताए ।
राप्रपा नेपालले मौलिक हकमा धर्म परिवर्तनको हक राखिएको र स्थानीय चुनावको मिति निर्धारण नभएको विरोधमा विरोधसहित नाराबाजी गरेको थियो ।
१८ असार दिउँसो १ बजे बैठक सुरु हुनासाथ आपत्ति जनाउँदै रोष्टम घेर्न पुगेका राप्रपा नेपालका सभासदहरुले लगातार नाराबाजी गरिरहेपछि संविधानसभा अवरुद्ध भयो ।
