समाचारशुक्रबार, कार्तिक २४, २०६९
शर्माको राजीनामा किन ?

काठमाडौं विश्वविद्यालयको १८ औं दिक्षान्त समारोहमा प्रधानमन्त्री एवम् कुलपति बाबुराम भट्टराई र उपकुलपति सुरेशराज शर्मा ।
विश्वविद्यालयका कुलपति प्रधानमन्त्री बाबुराम भट्टराईको उपस्थितिमा बसेको मेडिकल साइन्सको १८ औं दीक्षान्त समारोहको बैठकमा उपकुलपति शर्माले राजीनामा दिएका हुन् । उपकुलपतिका हैसियतमा डा. शर्माले दीक्षान्त समारोहबारे बैठकमा औपचारिक जानकारी गराएपछि प्रधानमन्त्री भट्टराईको दबाबमा उनले राजीनामा दिएका हुन् । बैठकमा सहभागी एक सदस्यका अनुसार शर्माले बोलेपछि प्रधानमन्त्री भट्टराईले ‘लामो समय उपकुलपति हुनु भएका सुरेशराज शर्माले प्रकृया पुर्याएर नयाँ उपकुलपति चयन भए हुन्थ्यो भन्ने इच्छा राखेको’ भन्दै राजीनामाका लागि दबाब दिएका थिए । प्रधानमन्त्रीको दबाबपछि शर्माले बाध्य भएर राजीनामा दिएका हुन् ।
उपकुलपति शर्माले विश्वविद्यालयमा आफूले भने अनुसार काम नगरेका कारण माओवादी नेतृत्व शुरुदेखि नै उनको बिरोधमा लागेको थियो । बिश्वविद्यालयद्धारा २७ साउन २०६९ मा संचालित एमबीबीएस परीक्षामा माओवादी समर्थक विद्यार्थीले कोटा माग गर्दै तालाबन्दी गरेको थियो । उपकुलपति शर्माले प्रतिस्पर्धाका आधारमा विद्यार्थी भर्ना गरिने अडान राखेपछि द्वन्द्व बढेको थियो । यसैगरी आफ्नो सिफारिसमा छात्रबृत्ति दिनुपर्ने माओवादी समर्थक विद्यार्थीको माग नस्वीकारी प्रतिस्पर्धाका आधारमा छनौट गरेपछि माओवादी नेतृत्वसम्म यो कुरा पुगेको थियो । यसरी उनीप्रति माओवादी नेतृत्व नकारात्मक भइरहेका बेला प्रधानमन्त्री भट्टराईले जबर्जस्ती शर्माको राजीनामा गराएका हुन् ।
राजीनामा दिन बाध्य पारेपछि प्रधानमन्त्री भट्टराईले सिनेट बैठकमै सहकुलपति शिक्षामन्त्री दीनानाथ शर्मा संयोजक रहेको छनौट समिति गठन गरेका छन् । छनौट समितिमा दमननाथ ढुंगाना र डा. लोकबिक्रम थापा छन् ।
