समाचारशुक्रबार, कार्तिक २४, २०६९

राष्ट्रसङ्घीय परिषदमा नेपाल निर्वाचित

हिमालखबर

राष्ट्रसङ्घको ६७ औं महासभाले नेपालसमेत १८ देशलाई उक्त परिषद्को चयन गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

तीन वर्षका लागि परिषद् सदस्यमा निर्वाचित नेपालले आगामी पुस १७ गतेदेखि कार्यभार सम्हाल्ने छ । परिषद् सदस्यका लागि बिहीबार भएको मतदानमा एसिया प्रशान्त क्षेत्रका लागि छुट्याइएका चार स्थानमा १३१ मत प्राप्त गरी नेपाल विजयी भएको हो । नेपालले प्राप्त गरेको यो मत दुई तिहाई बहुमत हो ।

एसिया प्रशान्त क्षेत्रबाट कुबेतले सर्वाधिक १८० मत पाएको थियो भने किर्गिस्तानले १६४ र तुर्कमेनीस्तानले १४० मत प्राप्त गरेका संयुक्त राष्ट्र सङ्घका प्रवक्ताको कार्यालयले जनाएको छ । यी तीनवटै मुलुक इकोसोकको सदस्यमा चुनिएका छन् ।

कार्यालयका अनुसार परिषद्मा निर्वाचित अन्य मुलुकमा अल्बानिया, बेनिन, बोलिभिया, क्यानाडा, कोलम्बिया, क्रोसिया, हाइटी, मरिसस, नेदरल्यान्डस्, सानमारिनो, दक्षिण अफ्रिका, सुडान, ट्युनिसिया र संयुक्त राज्य अमेरिका छन् ।

परिषद्का १८ सदस्य अफ्रिकी मुलुकमध्येबाट पाँच, एसिया प्रशान्त क्षेत्रबाट चार, पूर्वी युरोपेली देशबाट दुई, ल्याटिन अमेरिकी र तीन क्यारेबियन राष्ट्रका तीन तथा पश्चिमी युरोप र अन्य चार मुलुक नयाँ सदस्यमा निर्वाचित भएका हुन् । ५४ सदस्यीय उक्त परिषद्का लागि प्रत्येक तीन वर्षमा १८ सदस्यको निर्वाचन हुने गरेको छ ।

यसैबीच निमित्त परराष्ट्र सचिव अर्जुनबहादुर थापाले परिषद् सदस्यमा नेपालको विजय मुलुक र मुलुकवासीका निम्ति गौरव र गर्वको विषय भएको बताए ।

राष्ट्र सङ्घको महत्वपूर्ण निकाय परिषद्को सदस्यका हैसियतले उक्त विश्व संस्थाको आर्थिक एवम् सामाजिक नीति निर्माण एवम् निर्धारणमा नेपालको प्रभावकारी सहभागिता हुने उनले उल्लेख गरे ।

यसअघि परिषद्को सदस्यमा अर्जेन्टिना, बहमास, बङ्गलादेश, क्यानाडा, चिली, कमरोस, इजिप्ट, घाना, इराक, इटाली, मङ्गोलिया, नेदरल्यान्डस्, फिलिपिन्स, रुवान्डा, स्लोभाकिया, युक्रेन, संयुक्त राज्य अमेरिका र जाम्बिया थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>