समाचारबिहीबार, आषाढ २४, २०७२
मिति तोक्ने अधिकार आयोगलाई देऊः आयुक्त शर्मा

निर्वाचन आयुक्त इला शर्मा । तस्वीर: गोपाल गडतौला
निर्वाचन आगोगकी आयुक्त इला शर्माले निर्वाचनको मिती तोक्ने अधिकार आयोगलाई दिइनुपर्ने धारणा व्यक्त गरेकी छन् ।
२४ असार बिहान झापाको दमकमा पत्रकारहरुसँग कुरागर्दै आयुक्त शर्माले भनिन्, “आयोगले मिति तोक्ने चलन संसारका धेरै विकसित मुलुकमा छ, जुन व्यबहारिक पनि हो ।”
आयोगले निर्वाचनको मिति तोक्ने अधिकार संविधानमै व्यवस्था गर्न संविधानसभालाई सुझाव दिएको पनि उनले बताइन् । भनिन्, “निर्वाचनको मिति तोक्ने अधिकारसँगै निजामती सेवाभित्रै निर्वाचन समूह व्यवस्था गर्न र निर्वाचन आयोगको बजेट संसदले पारितगरि महालेखाबाट अडिट हुने व्यवस्था गर्न समेत सुझाव दिएका छौं ।”
कर्मचारीलाई कामको आधारमा पुरस्कार वा दण्डको व्यबस्था गर्न अलग्गै निर्वाचन समूहको आवश्यकता रहेको उनको भनाई छ ।
हालको व्यवस्था अनुसार आयोगका कर्मचारीको व्यवस्था सामान्य प्रशासन मन्त्रालयबाट भइरहँदा कठिनाई भएको शर्माले बताइन् ।
अहिले आयोग मिति घोषणा भएको चार महिनाभित्र जुनसुकै निर्वाचन गराउन सक्षम रहेको उनले जानकारी दिइन् ।
सामाजिक बिषय पढाउने शिक्षकहरुका लागि निर्वाचन शिक्षा सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न शर्मा झापा आएकी हुन् ।
गोपाल गडतौला, झापा
