समाचारशुक्रबार, आषाढ २५, २०७२
वेपत्ता परिवारका आफन्त भन्छन, ‘कार्वाहीमा उत्रन वाध्य नपार ’
दश वर्षे सशस्त्र हिंसाका बेला आफन्त बेपत्ता भएका लमजुङका पीडितहरु सदरमुकाममा भेला भई दलहरु आफ्नो समस्याप्रति संबेदनशील हुन नसकेको भन्दै आक्रोश पोखेका छन् ।
स्थानीय शान्ति समिति लमजुङले २४ असारमा आयोजना गरेको बेपत्ता परिवारसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी बेपत्ता भएकाका आफन्तहरुले दल र नेताहरुप्रति चर्को आक्रोश पोखे ।
कार्यक्रममा बेपत्ता परिवारका सदस्यहरुलाई आफ्ना कुरा राख्न भनिएपछि धेरै बेरसम्म कोही पनि बोल्न सकेनन् । आफन्त गुमाउनुको पीडा बिर्सन नसकेका उनीहरुमध्ये अधिकांश सुंक्कसुंक्क गर्न थाले, बोल्न खोज्नेहरुको पनि गला अवरुद्ध भयो ।
केही बेरको मौनपछि उनीहरुले विस्तारै आफ्ना भनाई राखे । भने, “बोलेर के हुन्छ र ? आजसम्म बोल्दा बोल्दा, रुँदा रुँदा घाँटी सुकिसक्यो । न मान्छे आउँछ, न खबर आउँछ ।”
उनीहरुले पीडितलाई थप पीडित बनाउने यस्ता कार्यक्रम अबदेखि आयोजना नगर्न समेत आग्रह गरे ।
दश वर्ष लामो द्वन्द्वको पीडा पीडक र दलका नेताहरुले विर्सिए पनि आफ्नो मनमा त्यो ताजै रहेको उनीहरुले बताए । सशस्त्र हिंसाका बेला राज्यपक्ष र माओवादी दुवैपक्षबाट बेपत्ता पारिएका सयौं नागरिकको अवस्था अझै अज्ञात छ भने दोषिमाथि कार्वाही हुन सकेको छैन ।
देशमा भएको राजनीतिक परिवर्तन पछि कानूनी राज्यको स्थापना भई दण्डहिनताको अन्त्य हुनेछ र पीडितहरुले न्याय पाउनेछन् भन्ने कुरा पनि हाल नेताहरुको व्यवहारले झुठो सावित गरेको उनीहरुको भनाई छ ।
“आफ्ना प्रियजन जीवित छन् या मारिइसके भन्ने पनि अहिलेसम्म स्पष्ट हुन सकेको छैन,” वेपत्ता परिवार सदस्य भोटेओडार–९ की गोमा कुमारी भट्टराईले भनिन्, “हराएका आफन्तको खोजी होला, अपराधीलाई कारबाही होला र पिडितले न्याय पाउँछौं भन्ने अब आशा मर्न लागिसक्यो ।”
कार्यक्रममा बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारीले बेपत्ता परिवारले उठाएको आवाजलाई सरकार, दल र नेताहरुले गम्भीरतापूर्वक नलिएको बताए ।
उनले भने, “परिवर्तन संस्थागत नहुँदै प्रतिगमन भएको छ । अब हामी संगठित हुँदै पुनः संघर्षमा उत्रन बाध्य हुँदैछौं ।”
उनले पीडकलाई कार्वाही गरी पीडितलाई न्याय नदिने हो भने आफूहरुले पनि पीडकलाई बेपत्ता बनाउन सक्ने चेतावनी दिए । भने, “हामी बाचुञ्जेल हाम्रा बेपत्ता पारिएका आफन्तको मुद्दा छाड्दैनौं ।
युवराज श्रेष्ठ, लमजुङ
