समाचारबिहीबार, आषाढ ३१, २०७२
सत्तारुढ दलकै विवादले संसद् बैठक अवरुद्ध
अर्थमन्त्री रामशरण महतले प्रस्तुत गरेको बजेटमा सत्तारुढ दल नेकपा एमालेले विमति जनाएपछि व्यवस्थापिका संसदको बैठक शुरु हुन सकेको छैन ।
आगामी आर्थिक बर्षको लागि प्रस्तुत बजेटमा नेपाली कांग्रेसले एक्लौटी गरेको भन्दै एमालेले पारित हुन नदिने निर्णय गरेपछि बैठक अहिलेसम्म शुरु हुन सकेको छैन । उक्त बजेट संसदमा पेश गर्न विहान ११ बजे बैठक बोलाइएको थियो ।
तर, ३१ साउन विहान एमाले संसदीय दलको बैठकले बजेट संशोधन नगरिए पारित हुन नदिने निर्णय गरेको छ । उक्त बैठकले कांग्रेससँग वार्ता गर्न उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र प्रमुख सचेतक अग्नी खरेल रहेको समिति गठन गरेपछि अहिले वार्ता भइरहेको छ ।
नेपाली कांग्रेसका नेता रामहरी खतिवडाका अनुसार वार्तामा सत्तारुढ दुई दलबीच नै कुरा मिल्न सकेको छैन ।
बजेटमा नयाँ तथा पुराना कार्यक्रमहरु नेताको नामसँग जोडेर आएपछि एमालेले पनि आफ्नो सरकारले ल्याएको कार्यक्रमसँग एमालेकै नेताहरुको नाम जोड्न माग गरेको छ । एमालेले ‘आफ्नो गाउँ, आफैं बनाऊँ’को अगाडि मदनभण्डारी, जेष्ठ भत्तामा मनमोहन अधिकारीको नाम जोड्न माग गरेको कांग्रेस नेता खतिवडाले बताए ।
उनका अनुसार कांग्रेस मध्यपहाडी लोकमार्ग पुष्पलालको नामसँग जोड्न तयार भएपनि अन्य दुई कार्यक्रममा नेताको नाम जोड्न मानेको छैन । खतिवडा भन्छन्, “सवै कार्यक्रममा नेताको नाम जोड्न सकिदैन । पहिलेदेखि जोडिदै आएको नाम मात्रै राख्न सकिन्छ ।” तर, एमालेले भने आफ्नो माग पूरा नभए बजेट पारित हुन नदिने अडान लिएको छ ।
