समाचारबिहीबार, आषाढ ३१, २०७२

शुक्रवारदेखि सभासदहरु निर्वाचन क्षेत्रमा

हिमालखबर

caसंविधानको पहिलो मस्यौदामा जनताको सुझाव लिन भोलिदेखि सभासदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा जाने भएका छन् ।

आर्थिक बर्ष २०७२/०७३ को बजेट ३१ असारमा पारित गरेर सभासदहरु सुझाव संकलन गर्न निर्वाचन क्षेत्र जाने नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनाएको छ । समितिका सभापति प्रमिला रानाले पत्रकार सम्मेलन गर्दै भनिन्, “७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा सभासदहरु पुग्नेछन् ।”

जनताको सुझाव लिने कार्य २४ असारबाटै शुरु भएपनि सभासदहरु निर्वाचन क्षेत्र पुगेपछि थप ब्यापक हुने उनले बताइन् । सुझाव संकलन समिति अन्तर्गत गठन भएका आन्तरिक कार्यविधि तथा कार्ययोजना, विदेशमा बसोवास गरेका नेपाली नागरिकको सुझाव सङ्कलन, प्रचारप्रसार तथा प्रकाशन, समन्वय तथा अनुगमन र प्रतिवेदन मस्यौदा गरी पाँच उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको उनले जानकारी गराइन् ।

२५ असारदेखि प्रत्येक जिल्लामा दुई÷दुई जना सचिवालयका कर्मचारीले सम्पूर्ण निर्वाचन क्षेत्रमा मस्यौदा वितरण र प्रचारप्रसारको काममा समन्वय गरिरहेका छन् ।

सभासद् राजिवविक्रम शाहीका अनुसार संविधानको मस्यौदामा स्वदेश र विदेशमा बसोवास गरेका नेपाली नागरिकको राय सुझाव प्राप्त भइरहेको छ ।
आजसम्म एक हजार ५० टोल फ्रि नम्बरबाट, वेभसाइटमार्फत एक हजार ५००, इमेलबाट एक हजार ११०, फ्याक्सबाट २८ वटा र हुलाक तथा सोझै सचिवालयमा १६ वटा लिखित सुझाव प्राप्त भएका छन् ।

सभासद् प्रेम गिरीले प्राप्त सुझावहरुमा अधिकांश नागरिकता, समावेशिता, सीमाङ्कनलगायतका विषयमा रहेको बताए । सभासद् प्रभादेवी वज्राचार्यका अनुसार ४ र ५ साउनमा सञ्चालन हुने सुझाव सङ्कलनको सार्वजनिक राष्ट्रिय अभियानमा जनताको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ ।

केन्द्रीय तहमा सुझाव सङ्कलनको कार्यक्रमलाई अनुगमन र समन्वय गर्नका लागि संविधानसभाका महासचिवको नेतृत्वमा केन्द्रीय अनुगमन तथा समन्वय समिति रहेको छ । उक्त समिति अन्तर्गत सचिवालयका सहसचिवहरुको नेतृत्वमा पाँच विकास क्षेत्र समेट्ने गरी अनुगमन टोली बनाइएको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>