समाचारशनिबार, साउन २, २०७२
१३ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित
नेपालमा १३ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् ।
गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको नैसर्गिक अधिकारको प्रत्याभूति गराउन खोप व्यवस्थापनको स्तरीय कार्य सञ्चालन गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र स्वास्थ्य सेवा विभागको सहयोगमा लाइफ लाइनको आयोजनामा आजदेखि काठमाडौंमा सञ्चालन गरिएको प्रभावकारी भ्याक्सिन व्यवस्थापनको स्तरीय कार्यसञ्चालन विधिसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको शुभारम्भका अवसरमा अहिले पनि पुरानै विधि र तरिकाअनुसार खोप सञ्चालन हुने गरेकाले त्यसमा सुधार ल्याउन आधुनिक प्रविधि र दक्ष जनशक्तिको खाँचो रहेकामा वक्ताको जोड दिएका छन् ।
मुलुकमा उच्च शिशु मृत्युदर हुनाको मुख्य कारण समयमै खोप सेवा पाउन नसक्नुलाई विभिन्न अध्ययनले उल्लेख गरेको पाइन्छ ।
८७ प्रतिशत बालबालिकाले पूर्ण खोप सुविधा पाएको, १० प्रतिशतले आंशिक र बाँकी तीन प्रतिशत बालबालिकाले एउटै पनि खोप पाउन नसकेको सरकारी तथ्याङ्क छ । हाल एक वर्षमुनिका बालबालिकालाई नौवटा खोप दिने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका राष्ट्रिय संयोजक डा राजेन्द्र बोहराले सबै जिल्लामा एकै पटक गुणस्तरीय खोप सेवा पुर्याउन नसकिए पनि नमुनाका रुपमा एक जिल्लाबाट विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।
लाइफ लाइनका अध्यक्ष जनार्दन नेपाल तथा कार्यकारी निर्देशक सुशील कार्कीले प्रभावकारी भ्याक्सिन व्यवस्थापन गर्न दक्ष जनशक्ति निर्माण गर्न यस किसिमको तालिम क्षेत्र र जिल्लामा पनि विस्तार गरिने जानकारी दिए ।
