समाचारआइतबार, साउन ३, २०७२
‘धर्म परिवर्तन सम्बन्धी प्रावधान संविधानबाट हटाइन्छ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्म परिवर्तन सम्बन्धीको प्रावधानलाई संविधानको प्रारम्भिक मस्यौदाबाट हटाइने बताएका छन् ।
गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले भने, “बहुधार्मिक तथा बहुसाँस्कृतिक मुलुकमा धार्मिक स्वतन्त्रता हुने हुन्छ । संविधान जारी गर्नु अघि नै धर्म परिवर्तन गर्न पाइने प्रावधान हट्छ ।” उनले निरपेक्षता शब्दलाई गलत ‘ट्रान्सलेट’ गरिएको बताए ।
उनले दलहरुबीच सहमति जुटेमा दुई घण्टाभित्र सीमाकंनको कार्य सकिने बताए । ओलीले भने, “दलीय सहमति जुट्ने संभावना नदेखिएकाले सीमाकंनबिना नै संविधान जारी हुनसक्छ ।” मस्यौदामाथि जनताको सुझाव लिन झापा पुगेका ओलीले झापा, मोरङ, सुनसरी तथा कैलाली र कञ्चनपुरबारे कुनै विवाद नरहेको बताए ।
जनमुखी र लाेकतान्त्रिक संविधान
पार्टी अध्यक्ष ओली भन्दा समयअघि झापा पुगेका बरिष्ठ नेता झलनाथ खनालले मस्यौदा संविधान जनमुखी र लोकतान्त्रिक भएको बताए ।
प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको साक्षात्कारमा खनालले अव कुनै बाधा र अवरोधले संविधान निर्माण कार्य नरोकिने बताए । “संविधान बन्न नदिने प्रयत्न भइरहेको छ, तर सबै राजनीतिक दल र जनता एकताबद्ध छन् अब संविधान आयो आयो”, खनालले भने ।
१६ बुँदे सहमतिले संविधान निर्माणको अन्योल हटाएको उनले बताए ।
-गोपाल गड्तौला, झापा
