समाचारसोमबार, साउन ४, २०७२
माधव नेपाल चढेको गाडी तोडफोड, दर्जन बढी प्रहरी घाइते
सुझाव संकलनका लागि रौतहट पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल चढेको गाडी तोडफोड गरिएको छ ।
सुझाव संकलन गरेर बाहिर निस्कने क्रममा ढुंगामुढा प्रहार गरी गाडी तोडफोड भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, संघीय समाजवादी फोरम नेपालका नेता ववन सिंह, सभासद दीपक झालगायत नेताहरुकै नेतृत्वमा ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन अश्रुँग्यास प्रहार गरिएको प्रजिअ भुजेलले बताए ।
प्रजिअ भुजेलले भने, “विहान ७ बजे शुरु भएको सुझाव संकलन कार्यक्रममा सभासदहरुले नै होहल्ला गरेर अवरोध गर्न खोजेपछि उनीहरुलाई बाहिरि निकालियो । बाहिरि हल्ला गर्दै बसिरहेका मधेशवादी दलका नेता कार्यकर्ताले ढुंगा हान्न थालेपछि अश्रुग्याँस प्रहार गरियो ।” ढुंगा प्रहारमा उत्रेका कार्यकर्तासँग प्रहरीको केही समय झडप नै भएको थियो ।
उक्त झडपमा दर्जन बढी प्रहरी घाइते भएको प्रजिअ भुजेलले बताए । अहिले अवस्था सामान्य भइसकेको र सुझाव संकलन कार्य सकिएको छ ।
-फणी महत, राैतहट
