समाचारमंगलबार, साउन ५, २०७२
पर्सामा गाडी तोडफोड, पत्रिका जलाइयो

तस्वीर: सुरेश बिडारी
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले ५ साउन विहान सवारी साधन तोडफोड गर्नुका साथै पत्रिका जलाएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले वीरगन्जको पावर हाउस चोकमा बिहान दुई वटा वटा भ्यान र एउटा मिनीबसमा तोडफोड गरेका हुन् ।
त्यस्तै उनीहरुले आफूपक्षको समाचार प्रकाशन नगरेको भन्दै अन्नपूर्ण पोष्ट, कान्तिपुर दैनिक र नागरिक दैनिक लगायत राष्ट्रिय दैनिक पत्रिकाहरु समेत जलाएका छन् ।
बन्दका कारण वीरगञ्जमा लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् भने मोटरसाईकल, रिक्सा लगायतका साधनहरु भने निर्वाध सञ्चालनमा छन् भने पसलहरु आंशिक खुलेका छन् ।
बाराको कलैया र रौतहटको गौर लगायतका बजारहरुमा पनि केही पसलहरु खुलेका छन् ।
४ साउनमा संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रमको शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा प्रहरीले दमन गरेर कार्यकर्तालाई घाईते बनाएकाले विरोधमा बन्दको आव्हान गरिएको मोर्चाका पर्सा संयोजक एवं संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

तस्वीर: सुरेश विडारी
एम्बुलेन्स, दमकल, कुटनीतिक नियोगका गाडीहरु मात्र चल्न छुट दिएको उनले बताए ।
बन्दको कारण वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि संचालन हुने यात्रुवाहक सवारी साधन संचालनमा नआएपछि वीरगन्जको नयाँ बसपार्कमा यात्रुहरु अल्पत्र परेका छन् ।
भारतबाट रक्सौलको बाटो हुँदै वीरगन्ज प्रवेश गरेका यात्रुहरु सवारी साधान संचालनमा नआएपछि वीरगन्जको बसपार्कमै अलपत्र छन् ।
यसअघि वीरगन्जमा मोर्चाका कार्यकर्ताहरुले बिहानै प्रदर्शन समेत गरेका थिए । पावर हाउस चोक र घण्टाघर चोकमा उनिहरुले टायर बालेर नाराबाजी समेत गरेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज
